Logo

दोब्बरले महँगिएको खानेतेलमा राहत दिने सरकारी तयारी, दशैँ-तिहारमा उद्योगकै मूल्यमा उपभोक्ताले किन्न पाउने

दोब्बरले महँगिएको खानेतेलमा राहत दिने सरकारी तयारी, दशैँ-तिहारमा उद्योगकै मूल्यमा उपभोक्ताले किन्न पाउने



काठमाडौं । सरकारले नेपाली बजारमा केही महिनामै दोब्बरले महँगिएको खानेतेलमा राहत दिने तयारी थालेको छ । दशैँ–तिहारमा उद्योगकै मूल्यमा उपभोक्ताले किन्न पाउने गरि राहत दिने तयारी भइरहेको वाणिज्य विभागले जानकारी दिएको हो ।
यस्तो सुविधा भने दशैँ, तिहारका लागि भन्दै तोकिएका सुपथ मूल्य पसलमा उपलब्ध हुने बताइएको छ । हाल बजारमा खानेतेल प्रतिलिटर २ सय ४० देखि २७० रुपैयाँसम्म पर्दछ । यो मूल्य विभिन्न च्यानल हुँदै आएकाले महंगो भएको विभागको भनाई छ । तर, कुनै च्यानल नभई सिधै सुपथ मूल्य पसलमा उद्योगबाट तेल ल्याउने व्यवस्था मिलाएपछि सस्तोमा खानेतेल उपलब्ध हुने विभागका प्रवक्त शिवराज सेँढाई बताउँछन् ।

उनका अनुसार खानेतेल उत्पादकहरुले हाल बजारमा ४ देखि ६ प्रतिशत मात्रै नाफा खाएर बजारमा पठाईरहेका छन् । यसबीचमा विभिन्न च्यानलले फाइदा खाने हुनाले बजारमा तेल महंगो भएको उनीहरुको भनाई छ । सोही कुरालाई मध्यनजर गर्दै विभागले नेपाल घ्यु, तेल उत्पादक संघका सदस्य उद्योगहरुबाट उत्पादित खानेतेल सहुलियतपूर्ण पसलहरुबाट उत्पादन मूल्यमा विक्री गर्नका लागि संघसँग समन्वय गर्ने बताएको छ ।

विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरुसँगको छलफलपछि यस्तो निर्णय गरेको हो । उक्त छलफलमा चाडबाडमा सुपथ मूल्य पसल खोल्नेसम्बन्धी निर्णय भएको थियो । जसअनुसार असोज १ गतेदेखि ६० दिनसम्म ३९ जिल्लाका ४३ स्थानमा सहुलियत संचालन हुनेछन् । ती पसलहरुमा चामल, तोरीको तेल, सनफ्लावर तेल, चिनीलगायत वस्तुमा ५ रुपैयाँ छुट र भट्मासको तेल, कर्णालीको सिमी र फापर दाना, खसी बोकाको मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL