Logo

संसदबाट एमसीसी पास होला ? हिजो नेपाल सरकारलाई अमेरिकाको जवाफ, आज एमसिसीका उपाध्यक्ष नै नेपालमा

संसदबाट एमसीसी पास होला ? हिजो नेपाल सरकारलाई अमेरिकाको जवाफ, आज एमसिसीका उपाध्यक्ष नै नेपालमा



काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै एमसीसीको ‘डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्स्’ की उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर बुधबारसो जवाफ दिएकी हुन् ।

उनले मन्त्री शर्मालाई पत्र लेख्दै एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको स्पष्ट गर्दै यसबारेमा नेपालमा गलत हल्ला मात्र फैलाइएको बताएकी छन् । उक्त परियोजनाले नेपाल सरकारलाई पठाएको जवाफमा नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको स्पष्ट गरेको हो । साथै बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको र एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको बताइएको छ । त्यसैगरी उक्त परियोजनाका लागि प्रयोग हुने जग्गामा पनि नेपाल सरकारको स्वामित्व कायम हुने उक्त पत्रमार्फत् स्पष्ट गरिएको छ ।

केही दिनमात्र अघि नेपालले सोधेका प्रश्नको जवाफ दिँदै पत्रमा एमसीसी नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीति रणनीतिअन्तर्गत नभएको पनि उल्लेख गरिएको छ । सो जवाफमा भनिएको छ– ‘एमसिसी कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन । एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन् । अमेरिका र नेपालबीचको सम्बन्ध हिन्द–प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो ।’

एमसीसीले पठाएको उक्त जवाफमा यस सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको र सहयोग लिने विषयमा नेपाल स्वतन्त्र रहेको पनि स्पष्ट गरिएको छ । नेपाल सरकारलाई पठाइएको सो जवाफमा एमसीसीले भनेको छ ‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । सबै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्पयाक्ट अन्तराष्ट्रिय कानुनका सिद्धान्तहरुद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौताहरु हुन् ।’

जवाफमा एमसीसीलाई लागू हुने अमेरिकी कानुनले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको उल्लेख छ । यो कानुनी बन्देजका बारेमा पनि कम्प्याक्ट स्पष्ट रहेको र यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीचमा कुनै पनि सम्बन्ध नरहेको पनि सो पत्रमार्फत् स्पष्ट गरिएको छ ।

त्यसैगरी नेपाल सरकारलाई पठाइएको सो पत्रमा कम्प्याक्टका लागि योग्य ठहर्याई साझेदार चयन गर्ने एमसीसीको प्रक्रिया वैधानिक रूपमा निर्धारित मापदण्डहरूमा आधारित भएको दाबी पनि एमसीसीले गरेको छ ।

सो पत्रमा भनिएको छ– ‘यसमा सैन्य पक्ष समावेश हुँदैन । एमसीसीको सञ्चालक समितिबाट कुनै पनि देश छनौटका लागि योग्य हुन विश्व बैंकद्वारा न्यून आय वा न्यून–मध्यम आय भएको देशका रूपमा वर्गीकृत भएको हुनुपर्छ र न्यायसंगत र लोकतान्त्रिक शासन, आर्थिक स्वतन्त्रतामा आधारित एमसीसीको वार्षिक सूचकाङ्कको स्कोर कार्डमा उत्तीर्ण हुनुपर्दछ ।’

एमसीसीका उपाध्यक्ष, नायब उपाध्यक्ष काठमाडौंमा

अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आएका छन् ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको हो ।

सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो । यद्यपि उहाँहरू एमसिसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आएका हुन् ।

अघिल्लो सरकारले एमसिसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति दिनाका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर तदनुरुप काम अघि बढाएको थियो ।

नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL