Logo

सार्वजनिक यातायात व्यवसायी आन्दोलित : यातायात प्राधिकरण गठनदेखि इम्बोस्ड नम्बर प्लेट खारेजीसम्मका माग

सार्वजनिक यातायात व्यवसायी आन्दोलित : यातायात प्राधिकरण गठनदेखि इम्बोस्ड नम्बर प्लेट खारेजीसम्मका माग



काठमाडौं । सार्वजनिक यातायात व्यवासायीले ११ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका छन् । बीमा नीति संशोधन, यातायात प्राधिकरण गठन, अन्तरप्रदेश भाडादर समायोजन, इन्बोस्ड नम्बर प्लेट जडान स्थगितलगायतका मागहरु राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार ११ बजेदेखि एकान्तकुना यातायात कार्यालय अगाडि धर्ना कार्यक्रम गरेर उक्त आन्दोलनको सुरु गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले बताए । सरकारले यातायात व्यवसायीहरुलाई थप समस्यामा पार्दै गएकाले भन्दै आन्दोलनमा उत्रिनु परेको हो ।

व्यवसायीले हालको बीमा नीतिले भनेबमोजिम जोखिम बहन गर्न सक्ने क्षमता नहुने, अन्तरप्रदेश सार्वजनिक यातायातमा भाडा समायोजन भएपनि प्रदेशभित्रै भाडा समायोजन नभएकोलगायतका गुनासोहरु राखेका छन् ।

विस २०७५ सालमा गठन गरिएको उक्त महासंघले आफुलाई कम्पनीमा रुपान्तरण भएका यातायात कम्पनीहरुको महासंघ भएको बताएको छ । पुरानो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ २०७५ देखि खारेज भएकाले नयाँ महासंघ गठन गरिएको महासंघका महासचिव नेपाल बताउँछन् ।

उनका अनुसार सरकारले हाल संचालित यातायात व्यवसायीहरुलाई हरेक क्षेत्रबाट पेल्ने गरेकाले विरोधका कार्यक्रमहरु आयोजना गर्नुपरेको हो । यातायात क्षेत्र कहिले श्रम रोजगार मन्त्रालयअन्तर्गत हुने, कहिले भौतिक यातायात मन्त्रालय अन्तर्गत हुने र त्यसले समस्या श्रृजना भएको भन्दै यातायात क्षेत्रलाई नियमन तथा नियन्त्रण गर्नका लागि छुट्टै प्राधिकरण बनाउनुपर्ने माग राखिएको छ । यातायात क्षेत्र नियमनका लागि प्राधिकरण गठन गरेको अवस्थामा व्यवसायीका मागहरु एउटै विन्दुबाट सुनुवाई हुने, सार्वजनिक यातायात क्षेत्र झन व्यवस्थित व्यवसायीको दाबी छ ।

यस्तै हाल बीमा नीतिअनुसार पनि तेस्रो पक्ष बीमा गर्दा घाईतेको उपचारका लागि ३ लाख र मृत्यु भएपछि ५ लाख तोकिएकाले नपुग्ने उनको भनाई छ । यो सीमालाई बढाएर मृत्युको १० लाख र घाईतेको १५ लाख रुपैयाँ पुर्याउनुपर्ने महासंघको माग छ ।

यस्तै सरकारले यातायातका सबै साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेकोमा त्यो जायज नभएको भन्दै खारेज गर्न माग गरिएको छ । सार्वजनिक यातायातलाई ट्राफिक प्रहरीले जहिल्यै अनावश्यक कारबाही गर्ने गरेको आरोप लगाउँदै व्यवसायीले । महासंघले भोली मंगलबार भने यातायात व्यवस्था कार्यालय मिनभवनमा धर्ना कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL