Logo

सुवर्ण शम्शेर ‘लेजेण्डरी’ अर्थमन्त्री भएको डा महतको भनाई, राज्यले सम्मान दिन नसेकोमा गुनासो

सुवर्ण शम्शेर ‘लेजेण्डरी’ अर्थमन्त्री भएको डा महतको भनाई, राज्यले सम्मान दिन नसेकोमा गुनासो


बिजखबर संवाददाता
0
Shares

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले पूर्व अर्थमन्त्री सुवर्ण शम्शेर राणा नेपालको ‘लेजेण्डरी’ अर्थमन्त्री भएको बताए । तर राज्यले उनको योगदानको उचित कदर गर्न नसकेको उनको भनाइ थियो ।

सुवर्ण स्मृति परिषदको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि डा महतले आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहेपनि राज्यको ढुकुटीको संरक्षण र प्रभावकारी सञ्चालन गर्नमा उनी कठोर भएको बताए ।

नेपालको बजेट शुरु गरेका पहिलो अर्थमन्त्री सुवर्ण शम्शेरले आयकर, सम्पत्ति कर जस्ता राज्यको स्थायी स्रोतको व्यवस्था गरेको उनले जानकारी दिए । उनले नेपालमा आफ्नै मुद्रालाई स्थापित गर्ने, विनिमय दर निर्धारण मात्र होइन शैक्षिक क्रान्तिका लागि एकैवर्षमा मुलुकभर १ हजार ६ सयभन्दा बढी विद्यालय स्थापनाको रकम व्यवस्थापन आफ्नो बजेटमार्फत शुरु गरेका थिए । कांग्रेसका संस्थापकमध्येका नेता सुवर्णजीको उचित मूल्यांकन हुन नसकेको उनको गुनासो थियो ।

ramshara-mahat

कांग्रेसमा बीपी, सुवर्णजी, गणेशमानजी, किसुनजी जस्ता एकसे एक त्यागी नेता रहेको स्मरण गर्दै पछिल्लो समय त्याग छायामा पर्ने गरेको उनको भनाइ थियो । साथै शुवर्ण सम्शेरको सम्मान स्वरुप आफुले अर्थमन्त्रालयको ठूलो हलको नाम नै सुवर्ण हल राखेको र त्यहाँ उनको ठूलो फोटो समेत राखिएको स्पष्ट पारे ।

सो अवसरमा कांग्रेसका संस्थापक नेता तथा पूर्वमन्त्री रामहरि जोशीले अहिलेको विषम परिस्थितिमा बीपी जस्तो दूरदृष्टि भएको र मेलमिलाप गर्न सक्ने र सुवर्णजी जस्तो त्याग गर्न सक्ने नेताको खाँँचो रहेको बताए ।

त्यसैगरी सुवर्ण स्मृति परिषदका सल्लाहकार हिमालय शम्शेर राणाले सुवर्ण शम्शेरमा इमानदारी र त्यागको गुण हुनुका साथै समाजवादी चिन्तन रहेको स्मरण गरे । त्यसैगरी, पूर्वमन्त्री मार्शलजुलुम शाक्यले सुवर्ण शम्शेर त्यागी र निष्ठाले भरिपूर्ण नेता भएको उल्लेख गर्दै उनको सम्मानका लागि परिषद स्थापना गरेर काम शुरु गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
MBL