काठमाडौं । तराइमा भइरहेको अन्दोलन तथा भारतीय नाकाबन्दीले पारेको प्रभाववारे ध्यानकर्षण गराउन बालुवाटार पुगेका व्यवसायीको टोलीलाई प्रधानमन्त्री केपी ओलीले कपास खेती गर्न आग्रह गरेका छन् । ‘अहिले अमेरिकाले नेपालमा उत्पादित कपडा निर्यातमा भन्सार छुट गरेको छ,’ उनले भने, ‘कपास खेती गर्नुस त्यसबाट उत्पादित कपडा अमेरिका निर्यात गर्नुहोस ।’ कपास खेती गरेर कपडा निर्यात गर्न सके अरुले नाकाबन्दी लगाउँदा पनि उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव नहुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आज नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्समा आवद्ध उद्योगी व्यवसायीसँग सो विषयमा छलफल गरेका थिए । सो अवसरमा नेपाली कपडा र गार्मेण्टको उत्पादन बढाई अमेरिका निर्यात गरेर जतिसक्दो बढी लाभ लिनुपर्ने उनको भनाइ थियो ।
छलफलमा प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन् । लामो समयदेखि तराइमा भएको आन्दोलनका कारण बन्द उद्योगहरु खुलाउन सरकारले विशेष योजना ल्याउँदै छ,’ उनले भने, ‘सो व्यवस्था लागू गर्नका लागि व्यवसायीको ठूलो सहयोग चाहिन्छ ।’
कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारका, उद्योग परिसघंका अध्यक्ष नरेन्द्र बस्न्यात, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज बैद्य लगायत विभिन्न क्षेत्रका ७० भन्दा बढी व्यवसायीको उपस्थिती थियो । उनीहरुले लामो समयको बन्दले उद्योग व्यबसाय धराशयी बन्दै गएकोले संचालन गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।