Logo

साइट क्लियरको काम सकिएपनि चक्रपथ दोस्रो खण्ड विस्तार अझै अन्यौलमा, चिनियाँ टोली आउने टुंगो लागेन

साइट क्लियरको काम सकिएपनि चक्रपथ दोस्रो खण्ड विस्तार अझै अन्यौलमा, चिनियाँ टोली आउने टुंगो लागेन



काठमाडौं । लामो समयदेखि अलपत्र परेको चक्रपथ बिस्तारको काम कहिलेदेखि शुरु हुने भन्नेमा अझै अन्यौलता देखिएको छ । । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड निर्माणका लागि साइट क्लियरिङको काम सम्पन्न भएपनि निर्माणको जिम्मेवारी लिएको चिनियाँ टोली अझै कहिले आउने भन्ने टुंगो नलाग्दा चक्रपथ विस्तार अन्यौलग्रस्त बनेको हो ।

सडक विभागले सडक बिस्तारका लागि चिनियाँ पक्षले राखेको शर्त अनुसार साइट क्लियरको काम सकेपनि चिनियाँ पक्षले कहिलेदेखि काम शुरु गर्ने भन्ने टुंगो लाग सकेको छैन् । विभागका अनुसार १० किलोमिटर लामो कलंकीदेखि चावहिल धोबीखोलको उक्त खण्डमा सडक चौडा र व्यवस्थित गर्नका लागि आवश्यक साइट क्लियरलगायतका पहिलो चरणका कामहरु चिनियाँ पक्षले भने बमोजिम नै सम्पन्न भइसकेको छ । उक्त क्षेत्रको सडकको ३१ मिटर भित्र पर्ने घरटहरा, खानेपानी र ढलको पाइप, विजुलीका तार, पोललगायत सबै स्थानान्तरण गरिसकिएको सडक विभागले जानकारी दिएको छ ।

२ बर्षअघि साइट क्लियरको काम सम्पन्न हुनेवित्तिकै काम सुरु गर्ने भन्दै चीन गएको चिनियाँ टोली साइट क्लियर नभएको भन्दै उतै बसेको थियो । तर, अब साइट क्लियर सकिसकेको अवस्थामा चिनियाँ टोलीलाई निर्माण शुरु गर्न भनिएपनि केही समय अझै लाग्ने आयोजना प्रमुख अर्जुन सुवाल बताउँछन् । उनका अनुसार चिनियाँ पक्षले उक्त सडकको डिपीआर चिनियाँ भाषामा बनाएको छ । तर, नेपालले भने उक्त डिपीआर अंग्रेजीमा बनाउन माग गरेको छ ।

चिनियाँ भाषामा बनाईएको डिपीआर अंग्रेजीमा अनुवाद गर्नका लागि केही समय लाग्ने भएपछि उनीहरु आउन पनि केही समय लाग्ने आयोजना प्रमुख सुवालले बताए । तर, चिनियाँ पक्षले पहिले रिपोर्ट पठाउने र पछि मात्रै आफु आउनेजस्तो संकेत दिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् । उनका अनुसार बालाजुदेखि बनस्थली चोकसम्ममा पर्ने एउटा हाईटेन्सन विद्युतको टावरमात्रै हटाउन बाँकी छ । तर, चिनियाँ पक्ष आएर काम सुरु गर्दा उक्त टावर हटिसक्ने उनको भनाई छ । बाँकी किचलो अब महाराजगंजको २ सय ४४ मिटर क्षेत्रमा मात्रै हो । त्यहाँ पनि चिनियाँ पक्षले अन्य क्षेत्रमा काम गरेर त्यो क्षेत्रको विवाद समाधान नभए नेपाल सरकारले नै निर्माण गर्ने भनिएको छ । अर्थात काम हुँदैगर्दा विवाद समाधान भए चिनियाँ पक्षले नै विस्तार गर्ने र नभए यसको विकल्पमा नेपाल सरकारले नै काम अघि बढाउने उनले बताए ।

तर, लगभग साइट क्लियरिङको काम सकिएका कारण चिनियाँ टोली आएर काम सुरु गर्दा पनि हुने उनको भनाई छ । यता नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय काममा तदारुकता देखाएपछि साइट क्लियरिङका काम तीव्रताका साथ अघि बढेको उनले बताए । अब विद्युत प्राधिकरणले काम सम्पन्न गरेको जानकारी विभागमा दिएपछि लगत्तै चिनियाँ टोलीलाई नेपालस्थित चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सेलरमार्फत बोलाउने तयारी गरिएको विभागले बताएको छ ।

विद्युत प्राधिकरणले भने पोलहरु र तारहरु सबै स्थानान्तरण गरिसकेपनि पुराना पोल १, २ स्थानमा हटाउन बाँकी रहेको प्राधिकरण महाराजगंज वितरण केन्द्रका प्रमुख शिव यादवले बताए । यसअघि चिनियाँ दूतावासका इकोनोमिक काउन्सेलरले साइट क्लियरको काम नभएको भन्दै फोटोसमेत पठाएका थिए ।

चिनियाँ पक्षले पहिलो खण्ड कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार गत्तै दोस्रो खण्डको काम सुरु गर्ने बताएको थियो । तर, नेपाली पक्षले साइट क्लियरिङको काम नसकेपचि चिनियाँ पक्ष आउन ढिलाई भएको हो । पहिलो खण्डको विस्तारका क्रममा साइट क्लियरसँगै सडक विस्तार गर्नुपर्दा काममा बाधा आएको चिनियाँ पक्षको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL