Logo

नेपालको १०२ देशसँग वैदेशिक व्यापार, बेलायतलगायत १४ देशसँगको व्यापार नाफामा

नेपालको १०२ देशसँग वैदेशिक व्यापार, बेलायतलगायत १४ देशसँगको व्यापार नाफामा



काठमाडौं । चालु आर्थिक बर्ष २०७८÷७९ मा नेपालले विभिन्न १ सय २ देशसँग वैदेशिक व्यापार गरेको छ । बढ्दो आयातका कारण ठूलो व्यपारघाटा झेलिरहेको नेपालको निर्यात भने न्यून रहेको छ । नेपालले गर्ने निर्यातको तुलनामा आयातको व्यापार निकै ठूलो र व्यापक पनि रहेको छ । चालु आवको पहिलो महिना अर्थात साउन महिनामा मात्रै नेपालले वैदेशिक व्यापारमा १ खर्ब २९ अर्ब बढीको घाटा बेहोर्यो । छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा नेपालले विभिन्न देशमा जम्मा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गर्दा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बढिको मालवस्तु भने आयात गरेको हो । गत आर्थिक बर्षको पहिलो महिनाको तुलनामा चालु आवमा निर्यातमा ११५ प्रतिशतको वृद्धि भएपनि आयात पनि उत्तिकै बढेको देखिन्छ । यस अवधिमा गत आवको तुलनामा आयातको व्यापार ७५ प्रतिशतले बढ्दा निर्यातको व्यापार भने ११५ प्रतिशतले बढेको हो ।

गत आवको तुलनामा निर्यातको व्यापार उल्लेख्य बढ्नुमा तेलको व्यापारलाई लिइएको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा मात्रै ११ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ बराबरको तेल निर्यात भएको देखिन्छ । यस अवधिमा तेलजन्य वस्तुको आयात १२ अर्ब ७७ करोड रुपैयाँ बराबरको भएको छ । खानेतेल र तेलजन्य बस्तुको निर्यातमा प्रमुख हिस्सा रहेपनि वैदेशिक व्यापारमा मात्रै नेपालले ८४ करोड १४ लाख ६६ हजार रुपैयाँ घाटा सहेको छ ।

यस्तै नेपालबाट धेरै निर्यात हुने वस्को सूचीको दोस्रो स्थानमा भने तयारी पोशाक रहेको छ । भन्सार विभागका अनुसार पछिल्लो महिना नेपालले विभिन्न देशमा १ अर्ब १२ करोड रुपैयाँ बराबरको निर्यात गरेपनि यसबाट ६४ करोड रुपैयाँ बढीको घाटा व्यहोर्नुपरेको छ ।

यसरी नेपालले पहिलो महिना नै विभिन्न १ सय २ देशहरुसँग वैदेशिक व्यापार गर्दा सबैभन्दा बढी व्यापारघाटा भने छिमेकी देश भारत र चीनसँग रहेको देखिन्छ । भन्सार विभागका अनुसार साउन महिनामा नेपालले भारतबाट ८९ अर्ब ४८ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गर्दा १६ अर्ब ८६ करोड रुपैयाँ बराबरको मात्रै मालवस्तु निर्यात गरेको देखिन्छ । भारतबाट मात्रै पहिलो महिनामै नेपालले ७२ अर्ब ६१ करोड रुपैयाँ बराबरको घाटा सहनुपरेको छ ।

यस्तै नेपालले धेरै घाटाको व्यापार गरेको देशको दोस्रो स्थानमा चीन छ । चीनमा गरेको वैदेशिक व्यापारमार्फत नेपालले २० अर्ब ८८ करोड बढिको घाटा गरेको देखिन्छ । नेपालले चीनबाट आयात गर्ने वस्तुको तुलनामा निर्यात ज्यादै न्युन छ । जसका कारण चीनसँग एकोहोरो व्यापार भएको जस्तो पनि देखिन्छ । भन्सार विभागका अनुसार नेपालले साउन महिनामा चीनबाट २० अर्ब ९७ करोड रुपैयाँको मालवस्तु आयात गर्दा जम्मा ८ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको मालवस्तु मात्रै निर्यात गरेको छ । यस्तै नेपालले धेरै व्यापारघाटा सहेका अन्य देशहरुमा क्रमशः अर्जेन्टिना, दुबई, इन्डोनेसिया, अष्ट्रेलिया, पाराग्वेलगायतका देशहरु रहेका छन् ।

१४ देशसँग व्यापार नाफामा

नेपालले वैदेशिक व्यापार गर्ने सबै देशसँग घाटाको मात्रै नभई नाफाको व्यापार पनि गरेको देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार बेलायत, अफगानिस्तानलगायत १४ देशसँग भने नेपालले नाफाको व्यापार गरेको छ । पहिलो महिनामै गरेको वैदेशिक व्यापारमा नेपालले बेलायतसँग ११ करोड ३९ लाख रुपैयाँको व्यापार नाफामा गरेको छ । साउनमा नेपालले बेलायतबाट १७ करोड ६६ लाख रुपैयाँ बढीको मालवस्तु आयात गर्दा त्यो भन्दा बढि अर्थात २९ करोड ६ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । यस्तै नेपालले नाफाको व्यापार गरेको दोस्रो देशमा भने कम्बोडिया रहेको छ भने अफगानिस्तानसँग पनि नाफाको व्यापार गरेको देखिन्छ । भन्सार विभागका अनुसार नेपालले साउन महिनामा स्वीडेन, स्लोभेनिया, न्यू क्यालेडोनिया, आर्मेनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया, जर्जिया, सेन्ट हेलेना, आइसल्याण्ड र क्रोयशियासँग नाफाको व्यापार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL