Logo

आयात-निर्यात दुवै बढ्यो : आयात २८.७ प्रतिशतले बढ्दा निर्यातमा ४४.४ प्रतिशतको वृद्धि

आयात-निर्यात दुवै बढ्यो : आयात २८.७ प्रतिशतले बढ्दा निर्यातमा ४४.४ प्रतिशतको वृद्धि



कामाडौं । आर्थिक वर्ष २०७७-७८ मा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७-७८ को वार्षिक तथ्याङ्कमा आधारित) मा आयात २८.७ प्रतिशतले बढ्दा निर्यातमा ४४.४ प्रतिशतको वृद्धि भएको उल्लेख छ । सो अवधिमा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भएर निर्यात उक्त अवधिमा १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनततर्फको निर्यातमा १४।७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैचाँ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ । तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा आयात १५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.१ प्रतिशत, २८.६ प्रतिशत र १९.६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ । तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आव २०७७-७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ ।अघिल्लो वर्ष यस्तो घाटा १६।. प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL