काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीहरुले फ्युल चार्जमा बढोत्तरी गरेको भन्दै हवाई भाडा बढाएको वायुसेवा सञ्चालक संघ नेपालले जानकारी दिएको छ ।
विराटनगर भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलमा इन्धन आपूर्ती व्यवस्था सहज तथा नियमित नभएसम्भ्म भाडा बृद्धि गरिने संघद्धारा जारी सूचनामा उल्लेख छ ।
सरकारबाट हवाई भाडा सम्बन्धि स्वीकृत फमुर्ला अनुसार कात्तिक २४ देखि लागु हुने गरी वायुसेवा कम्पनीहरुले फ्युल चार्जमा बढोत्तरी गरेपनि वायुसेवा कम्पनीहरुले भाडा बढाएका थिएनन् ।
‘ काठमाडौंबाटै वैकल्पिक विमानस्थलसम्म पुग्ने इन्धन तथा आकाशमा होल्ड गर्नुपर्ने अवस्थाका लागि थप ४५ मिनेट समेतको इन्धन लिएर जानुपर्ने बाध्यता छ’ सूचनामा उल्लेख छ ‘ जसले गर्दा काठमाडौंमा लागु गरिएको हवाई इन्धनको मूल्यमा नै दोहोरो टिकट लिनुपर्ने अवस्था रहेतापनि वायुसेवा कम्पनीहरुले सकभर सहुलियत दरको टिकट उपलब्ध गराउदै आएको थियो । ’
आयल निगमले नाका अवरोधका कारण हवाई मार्गबाट ढुवानी गरी काठमाडौंमा हवाई इन्धन आपूर्ति गर्दा ढुवानी खर्च बढी परेको भन्दै गत कात्तिक २३ गतेदेखि भाडा बढाएको थियो । काठमाडौंमा हवाई इन्धनको मूल्य १ सय १८ बाट २ सय ३३ पर्याएको थियो ।