Logo

नागढुंगा-नौविसे सुरुङमार्ग निर्माणमा अनियमितता, जग्गाको मुआव्जा निर्धारितभन्दा बढी भुक्तानी

नागढुंगा-नौविसे सुरुङमार्ग निर्माणमा अनियमितता, जग्गाको मुआव्जा निर्धारितभन्दा बढी भुक्तानी



काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको नागढुंगाको सवारी चाप कम गर्ने र काठमाडौं प्रवेश छिटो र सहज बनाउने उद्देशयसहित अहिले नागढुंगा–नौविसे सुरुङमार्ग निर्माण भइरहेको छ । उकालो बाटो र सवारी चापका कारण काठमाडौं प्रवेशविन्दुका रुपमा रहेको नागढुंगा वरपर सधैं जाम हुने तथा यात्रुले सास्ती पाउँदै आएको अवस्था छ । नागढुंगा–नौविसे सुरुङमार्ग निर्माण भए यो अवस्थाको अन्त्य हुने र काठमाडौं प्रवेश सहज हुने अपेक्षा गरिएको छ ।

हाल निर्माणले गति लिएको नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणमा भने अनियमितता भएको पाइएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको चन्द्रागिरी नगरपालिकाको बलम्बुसम्म बन्ने उक्त सुरुङमार्गको जग्गा अधिग्रहणमा अनियमितता भएको पाइएको हो । महालेखा कार्यालयले सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदनमा उक्त क्षेत्रको जग्गा अधिग्रहण गर्दा कच्ची बाटोले छोएको जग्गालाई राजमार्गले छोएको बाटोमा गणना गरी मुआब्जा बुझाएर अनियमितता गरिएको उल्लेख छ र ।

कार्यालयका अनुसार सुरुङमार्गको प्रवेश विन्दु धादिङको नौविसेका एक गुठी जग्गाधनीलाई ३५ लाख रुपैयाँ बढी भुक्तानी गरिएको छ । धादिङको नौविसे नगरपालिकाले उक्त स्थानमा पर्ने जग्गाको मूल्य प्रतिआना ८ लाख र त्यसमा १० प्रतिशत जोड्दा ८ लाख ८० हजार रुपैयाँ हुने भएपनि आयोजनाले उक्त ४ रोपनी जग्गाको मूल्य ३५ लाख २० हजार रुपैयाँ बढाएर ३ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

गुठीको जग्गावालाले जग्गाको मूल्यको ५० प्रतिशत मात्रै मुआब्जा पाउने व्यवस्था छ । जसअनुसार उक्त जग्गा धनीले ४ रोपनी जग्गाको कुल ५ करोड ६३ लाख रुपैयाँको ५० प्रतिशत २ करोड ८१ लाख ६० हजार रुपैयाँ पाउनुपर्ने हो । तर, आयोजनाले उनको जग्गाको मूल्य ‘राजमार्गले छोएको जग्गा’मा गणना गरेर प्रति आना ९ लाख ९० हजारका दरले हुन आउने मूल्यको ५० प्रतिशत अर्थात ३ करोड १६ लाख ८० हजार रुपैयाँ मुआब्जा भुक्तानी गरेको हो । यसअघि उक्त जग्गा कच्ची मोटरबाटोले छोएका कारण प्रति आना ८ लाख र त्यसमा १० प्रतिशत थप ८ लाख ८० हजार रुपैयाँ मूल्य निर्धारण धुनीबेसी नगरपालिकाले गरिसकेको थियो ।

यस्तै महालेखाले उक्त आयोजना निर्माणका लागि आवश्यक अन्य केही क्षेत्रमा भने जग्गा अधिग्रहण नै नभएको औंल्याएको छ । कार्यालयको प्रतिवेदनअनुसार काठमाडौंको बलम्बुमा निर्माण हुने फ्लाई ओभरका लागि जग्गा अधिग्रहणको कामसमेत अघि बढेको छैन । आयोजनाले गत आर्थिक बर्षभर सुरुङमार्गसम्म पुग्न १ किलोमिटर पहुँचमार्ग निर्माण गर्ने बताएपनि ३ सय १७ मिटर मात्रै निर्माण भएको जनाएको छ । यस्तै ५ सय मिटर सुरुङमार्ग निर्माण गर्न लक्ष्य भएपनि गत आर्थिक बर्षमा १ सय ५२ मिटर सुरुङ खनेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

हालसम्मको प्रगति

हाल आयोजनामा निर्माण कार्य तीव्र गतिमा चलिरहेको छ । जसका कारण काठमाडौं भित्रिने मुख्य सुरुङमार्ग र इभ्याकुएसन सुरुङको काम धमाधम भइरहेको छ । मुख्य सुरुङमार्गमा गाडी विग्रयो वा अन्य केही समस्याआएको खण्डमा इभ्याकुएसन टनेलको प्रयोग गरिन्छ । जुन, मुख्य सुरुङमार्गको समानान्तर हुन्छ ।
आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार हाल धादिङतर्फ मुख्य सुरुङमार्ग २ सय २० मिटर खनिसकिएको छ । यस्तै काठमाडौंतर्फबाट पनि यसको काम भइरहेकाले हाल मुख्य सुरुङमार्ग कुल ३ सय ५९ मिटर खनिसकिएको छ । यस्तै इभ्याकुएसनमा भने काठमाडौंतिरबाट ४ सय ६० र धादिङबाट २ सय ४५ गरी कुल ७ सय १४ मिटर खनिसकिएको छ । हालसम्म आयोजनाले १२ सय ७ मिटर सुरुङ खनिसकेको आयोजना प्रमुख शाक्य बताउँछन् ।

सन २०१६ मा जापान सरकारसँग ऋण सम्झौता भएको उक्त आयोजनाको काम हाल जापानी निर्माण कम्पनीले नै अघि बढाइरहेको छ । उक्त आयोजनाका लागि भन्दै अघिल्लो आर्थिक बर्ष ६ अर्ब १३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । जसमा, ३ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ । यस्तै गत अािर्थक बर्ष भने यसका लागि ५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएकोमा आर्थिक बर्षभरी २ अर्ब १९ करोड अर्थात ३७ प्रतिशत बजेट खर्च भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL