काठमाडौं । नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्यो । पछिल्लो समय निगमले पटक–पटक इन्धनमा मूल्यवृद्धि गरिरहेको छ । यसैक्रममा निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढायो । जसअनुसार निगमले पेट्रोल, डिजल–मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २–२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १३०, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११३ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ८६ कायम भएको छ । यस्तै, हवाई इन्धनमा बाह्यतर्फ प्रति किलोलिटरमा १६ अमेरिकी डलर बढेर ७७० पुगेको छ । त्यसैगरी, खाना पकाउने एलपीजी ग्याँसको मुल्य प्रति सिलिण्डरमा २५ रुपैयाँ वृद्धि गरी १४५० पुगेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारणले आन्तरिक बजारमा मूल्य समायोजन गरेको निगमले बताएको छ । निगमले यसअघि असार ३० गते पेट्रोलियम पदार्थको बढाएको थियो ।
यसरी पटक–पटक मूल्य बढाइहँदा पनि निगमको घाटा भने अझै पनि हरेक १५ दिन अर्थात पाक्षिक रुपमा एक अर्ब हाराहारीमा रहेको निगमको दाबी छ । मूल्य बढाउँदासमेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ ।
निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घाटा हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा कूल रु १९ करोड, डिजलमा रु १९ करोड छ लाख र खाना पकाउने एलपी ग्यासमा रु ६२ करोड २२ लाख बराबरको घाटा रहेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।