Logo

ग्याँस र पेट्रोलका लागि पुलिसदेखि सचिवसम्मको ‘पावर’

ग्याँस र पेट्रोलका लागि पुलिसदेखि सचिवसम्मको ‘पावर’


रामराजा श्रेष्ठ
0
Shares

विशेषगरी, सुरक्षामा खटिएका क्षेत्रका इन्स्पेक्टर, डिएसपी तथा एसपीहरुले ग्याँसको कोटा माग गरेर लफडा गर्ने गरेको सम्बद्ध उद्योगीहरुको गुनासो छ ।

काठमाडौं । भारतीय नाकाबन्दीले देशमा ग्याँस र पेट्रोलको अभाव बढ्दै गएपछि सरकारका उच्चपदस्थ व्यक्तिहरुले सम्बन्धित कम्पनी मालिकहरुलाई फोन गरेर आफुहरुलाई उपलब्ध गराइदिन दवाव दिने क्रम बढेको छ । विशेषगरी प्रहरी तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीबाट ग्याँस उपलब्ध गराइदिनका लागि फोन आउने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

हाल प्रहरी, सरकारी कर्मचारी तथा सभासदहरुबाटै ग्याँस उपलब्ध गराइदिन फोन आउने गरेको नेपाल ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । ‘अहिले ग्याँस माग्नका लागि कसले फोन गर्यो भन्दा पनि फोननम्बर थाहा पाउने सवैले गरिरहेका छन्,’ उनले भने, ‘उद्योगीहरुलाई ग्याँस माग्नेको दवाव थेग्नै कठिन भएको छ ।’ पछिल्लो समय ग्याँसका लागि विभिन्न तहबाट आउने गरेको दवावले गर्दा सम्बन्धित डिपोसम्म ग्याँस पुर्याउन नसकिएको उनले जानकारी दिए ।

हाल ग्याँस वितरणमा प्रहरीहरुले बढी लफडा गर्ने गरेको सम्बद्ध उद्योगीहरु बताउँछन् । ‘ग्याँस उद्योगमा स्थानीयले विवाद गर्छन भनेर सुरक्षाका लागि प्रहरी खटाइएको छ,’ एक उद्योगीले भने, ‘उनीहरुले नै विभिन्न वाहनामा ग्याँस मागेर लफडा गर्ने गरेका छन् । विशेषगरी, सुरक्षामा खटिएका क्षेत्रका इन्स्पेक्टर, डिएसपी तथा एसपीहरुले ग्याँसको कोटा माग गरेर लफडा गर्ने गरेको सम्बद्ध उद्योगीहरुको गुनासो छ ।

कतिपय अवस्थामा प्रहरीका उच्चपदस्थ तथा नेपाल सरकारका सहसचिव तथा सचिवबाटै ग्याँस मिलाइदिन फोन आउने गरेको एक व्यवसायीले नाम नवताउने सर्तमा बताए । ‘कतिपय सरकारी उच्चपदस्थ कर्मचारीहरुको आफु निकटका व्यक्तिहरुले ग्याँस डिपो संचालन गरेका रहेछन्,’ एक व्यवसायीले भने, ‘काठमाडौंमा ग्याँस आएको थाहापाउने वित्तिकै उक्त डिपोमा आफ्नो कोटा सहित ग्याँस पठाउन दवाद दिन्छन् ।’

यसैगरी, पेट्रोलका लागि पनि उच्च तहबाटै फोन आउने गरेको सम्बद्ध पम्प संचालकहरुको गुनासो छ । सरकारका उच्च तहबाटै पेट्रोल उपलब्ध गराइदिनका लागि फोन आउने गरेको नेशनल ट्रेडिङ टेकूले जानकारी दिएको छ । ‘तेलका लागि पहिला विभिन्न मन्त्रालयका उच्च तहबाटै फोन आउथ्यो,’ नेशनल टे«डिङका एक अधिकारीले भने, ‘अहिले तेल दिन पर्यो भन्दै सभासद्हरु आउने गरेका छन् ।’ पछिल्लो समय विभिन्न वाहनामा सभासद्हरु पेट्रोल हाल्न आउने क्रम बढेको समेत उक्त कर्मचारीको भनाइ छ ।

त्यसैगरी, पछिल्लो समय उच्चपदस्थ व्यक्तिहरु नेपाल आयल निगमको तोक लगाएर तेल हाल्न आउने क्रम बढेको समेत नेशनल ट्रेडिङले जानकारी दिएको छ । ‘पहिला फोन गरेर त्यतिकै आउथे,’ ती कर्मचारीले भने, ‘हामीले त्यसरी दिन छाडेपछि आयल निगमको तोक लगाएर आउन थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL