काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले बताए ।
सीईओमा नियुक्त पाल्पा निवासी ज्ञवाली सिभिल इन्जीनियय हुन् । सरकारले लामो समयको विवाद पछि प्राधिकरणमा सीईओ नियुक्त गरेको हो । यस अघि प्रतिपक्ष दल नेपाली काङग्रेसले तत्कालिन सीइओ प्राडा गोविन्द पोखरेललाई नै निरन्तरता दिनुपर्ने अडान राख्दै आएको थियो ।
ज्ञवाली तत्कालिन नगर विकास कोषका कार्यकारी निर्देशक हुन् । उनको कार्यकाल डेढ वर्ष बाँकी रहँदा सरकारले पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । ज्ञवालीसँग स्थानीय निकायमा लामो समय काम गरेको अनुभव छ ।
व्यवस्थापिका–संसद्ले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी विधेयक, २०७२ पारित गरी राष्ट्रपतिबाट जारी भएपछि सरकारले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
यसैगरी, सरकारले राष्ट्रिय योजना आयोगलाई पनि पूर्णता दिएको छ । मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा डा रामानन्द देव, डा सुमित्रा अमात्य, डा चन्द्रकान्त पौडेल, डा सुनीलबाबु श्रेष्ठ, डा गीतानन्द जोशी, डा कृपासुन्दर प्रसाद, विजयबहादुर कुँवरलाई नियुक्त गरेको हो । आयोगको उपाध्यक्षमा यस अघि डा युवराज खतिवडा नियुक्त भइसकेका छन ।