Logo

भूगर्भ सिमेन्ट उद्योगलाई कारबाही, गुणस्तर मापदण्ड विपरीत सिमेन्ट उत्पादन भएको पुष्टि

भूगर्भ सिमेन्ट उद्योगलाई कारबाही, गुणस्तर मापदण्ड विपरीत सिमेन्ट उत्पादन भएको पुष्टि



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड विपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ ।

विभागले सोमबार गरेको नमूना परीक्षणमा भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित पीपीसी सिमेन्ट नेपाल गुणस्तर मापदण्ड विपरीत पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले कपिलवस्तु कृष्णनगरका स्थानीय रमाकान्त चौधरीको गुनासोपछि सिमेन्ट परीक्षण गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले तोकेको गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर कम आएकाले कारबाही गरिएको जानकारी दिए ।

“सिमेन्टको तीन दिनको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा १६ एमपीए आउनुपर्नेमा नौ एमपिए र सात दिनको भारवहन क्षमता परीक्षण गर्दा २२ एमपिए आउनुपर्नेमा १५ एमपिएमात्र आएकाले बिक्री वितरण रोक्का गरी स्पष्टीकरण सोधेका हौँ”,  उनले भने ।

विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ तथा नियमावली २०४० बमोजिम पीपीसीको बिक्री वितरणमा रोक लगाई स्पष्टीकरण माग गर्नुका साथै बिना मूल्य गुनासोकर्तालाई सामान बदली गराइदिन निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL