काठमाडौं । चीन सरकारले अनुदानमा दिएको इन्डक्सन चुलोको मुल्य निर्धारण गर्न एक कमिटि गठन गरिएको छ । सरकारले उक्त चुलोको मुल्य निर्धारणका लागि विभिन्न ४ वटा सरोकारवाला निकाय सम्मिलित छुट्टै कमिटि गठन गरिएको नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनाराण मेहताले बताए ।
उनका अनुसार कमिटिमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र नेशनल ट्रेडिङका प्रतिनिधि रहेका छन् । उनीहरुले केही सयमभित्रै मुल्य निर्धारण गर्ने छन् । ‘मुल्य निर्धारण कमिटिको बैठक आज वा भोली बस्ने तय भएको छ,’ उनले भने, ‘उक्त बैंठकले नै मुल्य निर्धारण गर्ने छ ।’ मुल्य निर्धारण भएसँगै उपभोक्तालाई विक्री गरिने भएको छ । बजारमा पाइने अन्य इन्डक्सन चुलोभन्दा चीनले अनुदानमा उपलब्ध गराएको चुलोको मुल्य एकदमै कम हुने समेत मेहताले जानकारी दिए ।
चीनले केही समय अघि नेपाललाई १० हजार थान इन्डक्सन चुलो निशुल्क दिने बताएको थियो । हालसम्म १ हजार ३ सय थान चुलो नेपाल भित्रिएको छ । ग्याँस अभावको बेला विजुलीमा खाना पकाउन चीन सरकारले अनुदानमा इन्डम्सन चुलो दिएपनि मुल्य निर्धारण हुननक्दा हालसम्म विक्री हुन सकेको छैन ।
थप १० हजार थान आउँदै
आगामी ३० डिसेम्बर भित्र थप १० हजार थान इन्डकसन चुलो नेपाल भित्रने भएको छ । चीनले यसबाहेक थप १० हजार थान चुलो दिन लागेको मेहताले जानकारी दिए । ‘हाल नेशनल ट्रेडिङमा १ हजार ३ सय थान आइपुगेको छ,’ उनले भने, ‘अव थप १० हजार थान आउँदै छ ।’