Logo

१० जलविद्युत आयोजना बनाउँदैं प्राधिकरण, ३७ हजार बढी वितरण ट्रान्सफर्मर जडान

१० जलविद्युत आयोजना बनाउँदैं प्राधिकरण, ३७ हजार बढी वितरण ट्रान्सफर्मर जडान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल १० वटा जलविद्युत आयोजना निर्माण गर्दैछ । प्राधिकरणको ३६ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक विवरणमा देशका विभिन्न भागमा प्राधिकरणले आफैले १० वटा आयोजना निर्माण तथा विकासको चरणमा रहेको उल्लेख गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट अगाडि बढाइएका दूधकोसी, माथिल्लो अरुण, माथिल्लो मोदी, चैनपुर सेती, तामाकोसी ५, आँधीखोला र उत्तरगंगा, कुलेखानी सिस्नेरी पम्प स्टोरेज, रुपा बेगनास पम्प स्टोरेजलगायतका जलविद्युत आयोजना छन् ।

यस्तै प्राधिकरणले आ.व.२०७७÷७८ मा १३२ के.भी. क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण तथा स्तरोन्नति सहितको २१३४.२० एमभीए क्षमताका सबस्टेसनको निर्माण कार्य पूरा भएको जानकारी दिएको छ । प्राधिकरणबाट १३२ के.भी., २२० के.भी. र ४०० के.भी. क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभीए क्षमता बराबरका ग्रिड सबस्टेसनहरू निर्माण भइरहेका छन् । यी आयोजनाहरू प्रसारण निर्देशनालय र आयोजना व्यव‚थापन निर्देशनालय अन्तर्गत निर्माण भइरहेका छन् ।

प्राधिकरणले कोरोना महामारी हुँदाहुँदै पनि आ.व.२०७७÷७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूत रूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको जनाएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत पुर्याइएको छ । प्राधिकरणले आ.व. २०७७÷७८ मा सम्पन्न गरेको २२६.५ एम.भी.ए. क्षमताका ३३÷११ के.भी.का १० वटा वितरण सबस्टेसनसहित हालसम्म कुल १९२८ एम.भी.ए.का १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ ।

आ.व. २०७७÷७८ मा ३३ के.भी., ११ के.भी. र ०.४÷०.२३ के.भी. वितरण लाइनहरू क्रमशः ७०९ सर्किट किलोमिटर, २८२७ सर्किट किलोमिटर र ८७१६ सर्किट किलोमिटर निर्माण सम्पन्न भई हालसम्म निर्माण सम्पन्न भएका उल्लेखित क्षमताका लाइन क्रमशः ६०१९ सर्किट कि.मी., ४१,५५० सर्किट कि.मी.र १,२९,०८१ सर्किट कि.मी. पुगेको छ । साथै हालसम्म ३,६२३ एम.भी.ए. क्षमताका ३७,१६३ वटा वितरण ट्रान्सफर्मर वितरण प्रणालीमा जडान भएका छन् । वितरण प्रणालीतर्फ आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत २१२.२ एम.भी.ए. क्षमता बराबरका ३३÷११ केभी सबस्टेसन, २०६६ सर्किट किलोमिटर ३३÷११ के.भी. लाइन, ८४० सर्किट किलोमिटर ११ के.भी. भूमिगत वितरण लाइन, १८९४ सर्किट कि.मी.को ४०० भोल्टको लाइन र १११७ सर्किट कि.मी.को ४०० भोल्ट भूमिगत वितरण लाइन निर्माण भइरहेका छन् । साथै ८ एम.भी.ए.को एउटा ३३÷११ के.भी.सबस्टेसनको निर्माण सम्पन्न भएको छ भने ३३ के.भी. ११ के.भी. र ४०० भोल्टेज स्तरका क्रमशः १०५ किलोमिटर, १७२ किलोमिटर र ४०० किलोमिटर लाइनको निर्माण पूरा भएको प्राधिकरण्को प्रतिवेदनमा छ । संवत् २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पुर्याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको छ ।

वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने योजना अनुरूप रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका अधिकांश स्थाानमा वितरण प्रणाली भूमिगत गर्ने कार्य पूरा भएको प्राधिकरणले बताएको छ । कुलेश्वर, कीर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजु वितरण केन्द्रमा वितरण लाइन भूमिगत गर्ने कार्य अगाडि बढिसकेको छ भने ललितपुर र भक्तपुरमा समेत वितरण प्रणाली भूमिगत गर्ने कार्यको ठेक्का सम्झौता भइसकेको छ । उपत्यका बाहिर पोखरा र भरतपुरमा पनि वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ठेकेदार छनोट गर्ने कार्य अन्तिम चरणमा रहेको छ । स्मार्ट ग्रिड र स्मार्ट मिटरको कार्यान्वयनबाट ग्राहकलाई सहज र भरपर्दाे विद्युत सेवा उपलब्ध गराउने क्रममा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकहरूको घरमा स्मार्ट मिटर जडानको काम सम्पन्न हुने अवस्थामा रहेको छ ।

साथै देशैभरि थ्री फेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडि बढाइएको छ । वितरण प्रणाली स्वचालित बनाउन तथा स्मार्ट मिटरलगायत सूचना प्रविधि सम्बद्घ कार्य गर्न स्युचाटारको भारप्रेषण केन्द्रमा वितरण प्रणाली नियन्त्रण सहितको डाटा भण्डारण तथा सञ्चालनका लागि डाटा सेन्टर निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ ।

यस्तै चालू आर्थिक वर्षमा सम्पन्न गर्नेगरी उपत्यकाका १३ वटा ग्रिड सबस्टेसनमा स्वचालित सबस्टेसन प्रणाली जडान गर्ने कार्य भइरहेको छ । मुलुकमा प्रसारण प्रणालीको पूर्वाधार विकास गर्न १९०० सर्किट कि.मी. भन्दा बढी ४०० के.भी. प्रसारण लाइन र २९० सर्किट किलोमिटर १३२ केभी प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययनको कार्य परामर्शदाताले गरिरहेको छ । त्यसैगरी आगामी ३० वर्ष सम्मका लागि देशका प्रमुख सहरमा पर्याप्त विद्युत उपलब्ध गराउन आवश्यक प्रसारण लाइन र सबस्टेसनको अध्ययन गर्ने कार्यसमेत परामर्शदाताबाट भइरहेको प्राधिकरणले दिएको जानकारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL