Logo

दोस्रो खण्डको चक्रपथ बिस्तार अब अघि बढने : साइट क्लियरिङको काम लगभग सम्पन्न, चिनियाँ टोलीलाई बोलाईँदै

दोस्रो खण्डको चक्रपथ बिस्तार अब अघि बढने : साइट क्लियरिङको काम लगभग सम्पन्न, चिनियाँ टोलीलाई बोलाईँदै



काठमाडौं । लामो समयदेखि अलपत्र परेको चक्रपथ बिस्तारको दोस्रो खण्डको काम अब अघि बढने भएको छ । सोका लागि सरकारले चक्रपथ विस्तारको जिम्मेवारी लिएको चिनियाँ टोलीलाई बोलाउने तयारी गरेको छ । कलंकीदेखी चाबहिल गोपीकृष्णसम्म विस्तार हुने उक्त क्षेत्रमा साइट क्लियरिङको काम सकिनै लागेपछि निर्माणका लागि चिनियाँ टोलीलाई सडक विभागले बोलाउन लागेको हो ।

करिव २ बर्षअघिदेखि सुरु गरिएको उक्त क्षेत्रको साइट क्लियरिङको काम अबको १ देखी २ दिनमा सम्पन्न हुने बताइएको छ । सामाखुसी क्षेत्रमा रहेका विजुलीका पोलहरु हटाउने प्रक्रिया सुरु भएको आयोजना प्रमुख अर्जुन सुवालले जानकारी दिए । उनका अनुसार करिव १ बर्षदेखि अड्किएको कामका कारण चिनियाँ टोलीले सडक विस्तारको काम अघि बढाउन मानिरहेको थिएन ।

नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण रोकिएको उक्त कार्य अब भने सुरु हुने भएको हो । ‘चिनियाँ टोलीले हामीलाई पोल नहटाएको क्षेत्रको फोटो नै पठाएर साइट क्लियर नभएको बताएको थियो,’ उनले भने, ‘जसका कारण उनीहरुले काम अघि बढाउन मानेका थिएनन् ।’

सडक विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले विस्तार गर्नुपर्ने सडक वरिपरिका साइट क्लियर गरेपछि मात्रै विस्तार कार्य अघि बढाउने बताउँदै आएको छ । अन्य सबै क्लियर भएपनि नारायणगोपाल चोकदेखि गोंगबु चोकसम्मका विजुलीका पोल हटाउने काम बाँकी थियो ।

अघिल्लो पटक पहिलो खण्डको विस्तारका क्रममा साइट क्लियर नगरिकनै निर्माण अघि बढाएको कम्पनीले भनेबमोजिम काम गर्न पाएको थिएन । बीचबीचमा साइट क्लियर गर्दै काम गर्नुपर्ने भएपछि पहिलो खण्डको निर्माण प्रक्रियामा समस्या आएको भन्दै दोस्रो खण्डमा साइट क्लियर गरेर मात्रै काम थाल्ने चिनियाँ टोलीले बताएको थियो ।

पहिलो चरणको काम सम्पन्न गरेर दोस्रो चरणको डिजाइन कार्यका लागि भन्दै चिनियाँ टोली अढाई बर्ष अघि नै चीन गएको थियो । यसबीचमा नेपाल सरकारले उक्त क्षेत्रमा साइट क्लियर गर्ने र विस्तृत डिजाईनसँगै काम अघि बढाउने बताइएको थियो । चिनियाँ पक्षले साइटमा पर्ने स्थानको विजुलीका पोल नसारेकै कारण काम गर्न नमानेको आयोजना प्रमुख अर्जुन सुवालले जानकारी दिए । उनका अनुसार, सवै साईट क्लियर भइसकेपनि बसुन्धारामा रहेका विजुलीका पोलहरु नसार्दा काम अघि बढ्न सकेको छैन् ।

तर, विद्युत प्राधिकरणले भने उक्त क्षेत्रमा सार्नुपर्ने पोलहरुका लागि नयाँ पोल गाडिसकेपनि आवश्यक विजुलीको तार नआएपछि यसमा ढिलाई भएको बताएको छ । विद्युत प्राधिकरण महाराजगंज वितरण केन्द्र प्रमुख शिव यादवका अनुसार पोल हटाउने ठेक्का अगाडि नै लागेपनि केन्द्रिय कार्यालयले आवश्यक वायर उपलब्ध नगराउँदा यस्तो समस्या आएको हो ।

उक्त क्षेत्रका नयाँ पोलमा तार र ट्रान्सफर्मर स्थानान्तरण गर्दा एलटी लाईन एबीसी केबल आवश्यक पर्छ । जुन नेपाल विद्युत प्राधिरकणले नै आपुर्ति गर्न ढिलाई गरेको थियो । अब उक्त तार नेपाल आइपुगेको र आज तार स्थानान्तरण गर्ने आधा काम सकिने उनले बताए । तर पोलहरु सारिसकेकाले कलंकी बाट चिनियाँ पक्षले काम सुरु गरेपनि हुने उनको भनाई छ । ‘हामीले आवश्यक तार पाएर तार स्थानान्तरणसँगै पोल हटाउने काम सम्पन्न गर्न लागिसक्यौं,’ उनले भने, ‘अब बाँकी काम एक हप्ता भित्रमै सकिन्छ ।’

चिनियाँ टोलीका एक अधिकारी नेपाली पक्षले साइट क्लियर भएको जानकारी गराएपछि साईट भ्रमणमा आएका बेला ती पोल नहटेको देखेपछि समस्या भएको थियो । साईट भिजिट गर्दा क्लियर गर्न बाँकी २ वटा पोल देखेका कारण टोलीले पोल नहट्दासम्म नआउने बताएको सुवालले जानकारी दिए । सडक विभागले विभिन्न मन्त्रालय र निकायको समन्वयमा कलंकीदेखि धोबीघाटसम्म सडक क्षेत्रमा पर्ने रुखविरुवा, पानी र ढलका पाईप, विजुलीका पोल, घरटहरालगायत हटाईसकेको छ । तर, उक्त सडकको मूख्य समस्या भने स्वयम्भुको मूर्ति र नारायाणगोपाल चोकका १९ घर बाँकी नै छन् । स्वयम्भुमा रहेका बुद्धका मुर्तिहरु सर्भिस लेनभित्र पर्ने भएपछि भत्काउनुपर्ने भएपनि स्थानीयले संरचना मास्न नहुने भन्दै विरोध जनाएपछि त्यो समस्या यथावतै छ ।

यो समस्या सर्भिस लेनभित्रको भएकाले नेपाल सरकारको जिम्मामा परेका कारण चिनियाँ टोलीलाई बीचको सडक बनाउन बाधा पुग्दैन । तर, सर्भिस लेन निर्माणका लागि भने चिनियाँ पक्षको काम हुँदै गर्दा बीचमा छलफल गरी निर्णय निकाल्ने योजना रहेको आयोजना प्रमुख सुवालले बिजखबरलाई जानकारी दिए । यस्तै दोस्रो समस्याको रुपमा रहेको चक्रपथका १९ ओटा घर भएको क्षेत्रमा भने चिनियाँ टोलीले कुनै कार्य नगर्नेगरी सडक विस्तारको कार्य गर्ने बताइएको छ । उक्त चोकमा रहेका घर भत्काउन समस्या भएको र घरधनीले मुवाब्जासमेत लिन नमानेपछि समस्या कायमै रहेको छ । घरधनीले मुआव्जा लिन नमानेपछि सरकारले अन्य कुनै नयाँ निर्णय गरेर उक्त क्षेत्रबाट १९ घर हटाउने तयारी गरेकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL