काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सचेञचमा नयाँ रेकर्ड बेको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको हो ।
आइतबार नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा झरेको छ । नेप्से ०.७८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.९० अंकले घटेर ५८९.२८ विन्दुमा पुगेको छ ।
कूल २२२ वटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि यही जेठ ३० गते, आइतबार १९ अर्ब ५५ करोडको कारोबार भएको थियो ।
कारोबार भएका १३ उपसमूहमा ३ वटा उपसमूहको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । आइतबार ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ५४ रूपैयाँ ७० पैसा पुगेको छ ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय १८ रूपैयाँ पुगेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ६ सय ६८ रूपैयाँ पुगेको छ । आइतबार नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको १ अर्ब ५ करोड ४४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।