Logo

कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख खोप पाउने, विश्व बैंक र गाभीबीच सम्झौता

कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख खोप पाउने, विश्व बैंक र गाभीबीच सम्झौता



काठमाडौं । कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड–१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको विश्व बैंकले जनाएको छ ।


‘कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरू मध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिहरुका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु ।’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने, ‘मोडेर्ना खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरु विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउने भएको छ ।’

यी खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आईपुग्ने अपेक्षा गरिएको छ र यसले  नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरी लाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने  छ ।

‘कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।’ माल्दिभ्स, नेपाल तथा  श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने ।

‘यस सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपतकालिन स्वास्थ्य क्षेत्रको माग पुरा गर्न र स्वास्थ्यसेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ ।’ जर्भोसले थपे ।

नेपाल सरकारको महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराईसकेको छ, जसअन्तर्गत कोभिड-१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि  ६७.५ मिलियन डलर विनियोजन गरिएको जनाएको छ ।

अघिल्लो महिनामा विश्व बैंकका तर्फबाट १००० थान अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याईएको थियो जुन सातै वटा प्रदेशहरूमा स्थापना गरिदैंछ । यी कार्यहरूले भविष्यमा आउन सक्ने महामारीका अन्य लहरहरूसँग जुध्नका लागि सरकारको स्वास्थ्य प्रणाली तयारीलाई सुदृढ बनाउन सहयोग गर्नेछ ।

विश्व बैंकका लागि दक्षिण एसियाका भाइस प्रेसिडेन्ट हार्टविग सेफरले भने- ‘यो अभूतपूर्व संकटबाट नेपाली जनता र अर्थतन्त्रलाई उकास्न र उत्थानशिलता सुनिश्चत गर्न नेपालका लागि कोभिड-१९ खोप कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ र यसका लागि सहयोग र समर्थन जारी राख्न विश्व बैंक पूर्णरूपमा प्रतिबद्ध छ ।’ 

विश्व बैंकले विभिन्न देशहरुको कोभिड-१९ खोप कार्यान्वयन योजनाहरुलाई सहयोग गर्दछ । राष्ट्रहरुले आफ्नो विशिष्ट आवश्यकताहरु र खोप र उपचारविधीका सन्दर्भमा डब्लुएचओले सिफारिश गरेका नीति र मार्गनिर्देशनहरूको विश्लेषण गरि आफुलाइ उपयूक्त विकल्पहरू छनौट गर्ने गरेको छ ।

कोभिड-१९को सुरूवात देखि नै विश्व बैंक ले यस महामारीले स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पारेका असर विरूद्ध जुध्न १५७ बिलियन डलर विश्वभर विनियोजन गरेको छ जुन विश्व बैंकको ईतिहसमै सबैभन्दा द्रुत गतिको र बृहत रूपको संकट प्रतिकार्य हो ।

यस प्रतिकार्य कार्यक्रमले एक सय भन्दा बढि देशहरूलाई स्वास्थ्य प्रणालीको सुदृढिकरण, अति विपन्न घरपरिवारलाई जिविकोपार्जन र रोजगार सहयोग, वातावरण-मैत्री पुनर्लाभ आदिमा सघाईरहेको छ । यसका साथै विश्व बैंकले खोप खरिद तथा वितरणका लागि ५० भन्दा बढी कम तथा मध्य आय भएका देशहरूलाई सघाइरहेको छ, यी मध्ये आधा भन्दा बढी देशहरू अफ्रिकामा पर्छन् । यस उद्देश्यका लागि विश्व बैंकले सन् २०२२ को अन्त्यसम्म २० बिलियन डलर वित्तिय सहयोग उपलब्ध गराउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL