Logo

धादिङमा २ अर्ब लगानीमा ‘सारस वेभरेज’ खुल्दैं : जुस, इनर्जी ड्रिंक र सफ्ट ड्रिंक उत्पादन गर्ने

धादिङमा २ अर्ब लगानीमा ‘सारस वेभरेज’ खुल्दैं : जुस, इनर्जी ड्रिंक र सफ्ट ड्रिंक उत्पादन गर्ने



काठमाडौं । काठमाडौं नजिकै धादिङमा नयाँ वेभरेज उद्योग सञ्चालन हुने भएको छ । धादिङको धुनिवेशी नगरपालिकामा २ अर्ब लगानीमा ‘सारस वेभरेज’ उद्योग स्थापना हुने भएको हो । सारस वेभरेज प्रालिको नाममा उद्योग विभागमा दर्ता भएको उक्क्त उद्योगको कुल पूँजी २ अर्ब रुपैयाँ र चालु पूँजी ८० करोड रुपैयाँ उल्लेख छ ।

उद्योग विभागका अनुसार धुनिवेशी नगरपालिकाको वडा नम्वर ५ मा उद्योग रहनेगरि दर्ता भएको उक्त उद्योगले बार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्नेछ । यस्तै उक्त उद्योगले बार्षिक २० हजार किलोलिटर सफ्ट ड्रिंक र ३० हजार किलोलिटर इनर्जी ड्रिंक उत्पादन गर्ने बताएको छ ।

शत .प्रतिशत स्वदेशी लगानीमा स्थापना हुने उक्त उद्योगमा १ सय ८० जनाले प्रत्यक्ष रोजगारी पाउने बताईएको छ । ठूलो उद्योगको बर्गमा परेको उक्त उद्योगले १ हजार केभीए विद्युत खपत गर्नेछ । पछिल्लो समय सरकारले विदेशबाट आयात हुने इनर्जी ड्रिंकमा प्रतिवन्ध लगाएपछि नेपालमा इनर्जी ड्रिंक उद्योगहरु खूल्ने क्रम बढेको छ ।

यस्तै गत असारमा मात्रै एक ठूलो इनर्जी ड्रिंक उद्योग दर्ता भएको छ । उद्योग विभागमा गत असार १४ गते साउथ एशियन वेभरेज प्रालिको नाममा पर्साको विन्दावासिनी १ मा फ्याक्ट्री स्थापना हुनेगरी उक्त उद्योग दर्ता भएको हो । विभागका अनुसार १ अर्ब रुपैयाँ कुल पूँजी भएको उक्त उद्योगमार्फत बार्षिक ६० हजार किलोलिटर फलफुलको जुस उत्पादन हुनेछ भने १५ हजार किलोलिटर अल्कोहल विनाको इनर्जी ड्रिंक उत्पादन हुनेछ । शतप्रतिशत लगानी स्वदेशी हुने बताएको उक्त उद्योगले १ सय ९४ जनालाई रोजगारी दिने बताएका छ ।

विस २०७६ जेठमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको प्रस्तावमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिबर्धक पेय पदार्थको आयातमा बन्देज लगाएको थियो । खासगरी युवापुस्ताहरुले दैनिकजसो सेवन गर्ने यस्ता पेय पदार्थले मानव स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र वैदेशीक व्यापारघाटामा पनि जोड दिने भएपछि यसको आयातमा प्रतिवन्ध लगाईएको थियो । तर नेपालमा हालपनि छिटफुट विदेशबाट आयात गरिएका इनर्जी ड्रिंकहरु देख्न सकिन्छ । जसमा रेडबुल, फलफूलका जुसलगायत पेय पदार्थहरु पर्दछन् ।

सरकारले प्रतिवन्ध लगाययता मात्रै नेपालमा इनर्जी ड्रिंक उत्पादन गर्नेगरी १५ ओटा उद्योग दर्ता भईसकेका छन् । यसबाट नेपाललाई आवश्यक इनर्जी ड्रिंक पर्याप्त उत्पादन हुने देखिन्छ । नेपालमा प्रतिवन्ध लाग्नुअघि मलेसिया, भियतनाम, बंगलादेशबाट रेडबुललगायतका विभिन्न शक्तिवद्र्धक पेय पदार्थ आयात हुँदै आएको थियो । यसले मानव स्वास्थ्यमा कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, हृदयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गर्दछन् ।

मानव स्वास्थ्यमा गम्भिर असर पार्ने भएपछि उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि यसको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । तर नेपालमा भने विदेशबाट आयात हुने यस्ता पेय पदार्थमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिवन्ध लगाएको छ । तर उद्योग विभागे भने स्वदेशमै यसको उत्पादनका लागि धमाधम उद्योग संचालनका स्विकृती दिने गरेको छ । तर हाल नेपालमा छिटफुट देखिएका विदेशबाट आयातित इनर्जी ड्रिंकहरु भने परिक्षण गरेर कारबाही गरिने वाणिज्य विभागले जानकारी दिएको छ ।

विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेँढाईका अनुसार केही व्यवसायीले पुरानै स्टक बाँकी रहेको बताएका छन् भने कतिपयलाई शंकाको घेरामा राखेर खाद्यमा परिक्षणका लागि पठाईएको छ । तर बेलाबेलामा गुनासो आएको खण्डमा यसको परिक्षण गरि क्याफिनयुक्त पेय पदार्थ भए तुरुन्तै कारबाही गरेर प्रतिबन्ध लगाउने गरेको उनले जानकारी दिए । तर, नेपालमा उत्पादन हुने यस्तो इनर्जी ड्रिंकहरु विना क्याफिनयुक्त हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL