Logo

काठमाडौंमा संक्रमण बढेसँगै कडाईको संकेत, निषेधाज्ञा थप र मापदण्ड परिमार्जनबारे सिडिओको बैठक बस्दैं

काठमाडौंमा संक्रमण बढेसँगै कडाईको संकेत, निषेधाज्ञा थप र मापदण्ड परिमार्जनबारे सिडिओको बैठक बस्दैं



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञामा थप कडाईको तयारी गरिएको छ । गत वैशाख १६ देखि जारी निषेधाज्ञा हाल निकै खुकुलो बनेको र सर्वसाधारणले निषेधाज्ञाको महसुस नै नगरेको अवस्था छ । यस्तोमा काठमाडौं प्रशासनले अब स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउने गरि निषेधाज्ञा फेरि थपिने भएको छ ।

यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ ।

संक्रमण बढ्दै गएकाले अबको निषेधाज्ञाको मोडल परिवर्तन हुन सक्ने बताइएको छ । अहिले विद्यालय, मठमन्दिर, नाइट क्लवलगायतका क्षेत्रबाहेक सबैजसो पसल, व्यवसाय खुला गरिएको छ । यस्तोमा संक्रमणको खतरा रहेका थप क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था गर्न सकिने सम्भावना रहेको स्रोतले बताएको छ ।

सोमबार काठमाडौ उपत्यकामा ९५९ जना संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी ६२४ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा १७० र ललितपुरमा १६५ संक्रमित थपिएका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा अहिले १० हजार ६९५ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौं जिल्लामा ७ हजार ५७५, भक्तपुर जिल्लामा १३६५ र ललितपुर जिल्लामा १७५५ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार २८८ पुगेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार ३८१ जना रहेका छन् भने होम आइसोलेसनमा ३२ हजार ९०७ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ७४१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL