Logo

निर्यात उद्योगलाई १ अर्ब २८ करोड अनुदानको सिफारिस, चिया कफी उद्योग अग्रस्थानमा

निर्यात उद्योगलाई १ अर्ब २८ करोड अनुदानको सिफारिस, चिया कफी उद्योग अग्रस्थानमा



काठमाडौं । उद्योग विभागले नेपालबाट वस्तु निर्यात गर्ने ५ सय ८ उद्योगलाई निर्यातमा नगद अनुदानका लागि सिफारिस गरेको छ । विभागले गत आर्थिक बर्षमा नेपालमा उत्पादिन वस्तुहरु विदेशमा निर्यात ५ सय ८ उद्योगहरुलाई १ अर्ब २८ करोड ५० लाख रुपैयाँ पाउनेगरि सिफारिस गरेको हो ।

उद्योग विभागले निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि २०७५ अनुरुप नेपालमा मालवस्तु उत्पादन गरी भारतलगायत अन्य मुलुकमा वस्तु निर्यात गर्ने उद्योग तथा व्यवसायका लागि उक्त सिफारिस गरेको विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले बताए ।

विभागले विभिन्न मापदण्डहरु पार गरेको निर्यातकर्ता उद्योगहरुलाई निश्चित रकम पाउनेगरी नेपाल राष्ट्र बैंकसमक्ष सिफारिस गर्ने गर्दछ । नेपाल राष्ट्र बैंकले सोहीअनुसार विभागले सिफारिस गरेका उद्योगहरुलाई नगद अनुदान दिने गर्दछ ।

निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि २०७५ अनुसार ११ किसिमका वस्तुहरुले कुल निर्यातित वस्तुको मूल्यको ३ प्रतिशत र १५ वस्तुहरुले कुल निर्यातित वस्तुको मूल्यको ५ प्रतिशत नगद अनुदान पाउने व्यवस्था छ ।

जसमध्ये नेपालमा स्वदेशमा उत्पादित कपडा, तयारी पोशाक, गलैँचा र उनीका सामान, च्याङ्ग्रा पश्मिना र सोबाट उत्पादिन सामानलगायतको निर्यातमा ३ प्रतिशत नगद अनुदान पाईने कार्यविधिमा उल्लेख छ । यस्तै प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका सामग्री, प्रशोधित छाला र छालाजन्य वस्तुलगायतको निर्यातमा ५ प्रतिशत नगद अनुदान पाईने व्यवस्था छ ।

सरकारले नेपालमा उत्पादिन वस्तुहरुको निर्यातलाई प्रोत्साहन गर्न यो कार्यविधि जारी गरेको थियो । जसमा नेपालबाट वस्तुहरु उत्पादन वा प्रशोधन गरी भारतसँगै अन्य तेस्रो मुलकमा निकासी गर्ने उद्योगलाई समावेश गरिन्छ । निर्यातका लागि स्वदेशमै उत्पादन वा प्राप्त हुने कृषि तथा वन सम्बन्धी वस्तुहरुको हकमा एकचोटिसम्म प्रशोधन भएको हुनुपर्ने, यी वस्तुहरुमा मूल्य अभिवृद्धि कम्तिमा ५० प्रतिशत हुनुपर्नेलगायतका शर्त राखिएका छन् । यस्तै यसरी उत्पादन गरेको वस्तु बाहिर निर्यात गरेर सोही बमोजिमको रकम बैंकमा दाखिला भएको प्रमाण पेश गर्नुपर्नेसमेत उल्लेख गरिएको छ ।

गत आर्थिक बर्षमा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । जसमा सबैभन्दा बढी निर्यात हुने वस्तुको पहिलो सूचिमा प्रशोधित तेल रहेको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालबाट ५५ अर्ब ९५ करोड ९१ लाख रुपैयाँ बराबरको प्रशोधित तेल नेपालबाट निर्यात भएको हो ।

यस्तै निर्यातमा अनुदान पाउने वस्तुमध्ये सबैभन्दा बढी निर्यात हुने वस्तुमा भने चिया तथा कफी परेको छ । यो गत आवभरी ११ अर्ब ७६ करोड रुपैयाँ बढीको निर्यात भएको थियो । यस्तै धेरै निर्यात हुने वस्तुको सूचीको तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः कपडा, गलैँचा तथा तयारी पोशाक रहेका छन् ।

नेपालले गत आवमा १६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा निर्यात व्यापारको हिस्सा जम्मा ८ दशमलव ४० प्रतिशत मात्रै छ । यो अवस्थाको अन्त्य गरी आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न निर्यातमा अनुदानसम्बन्धी कार्यविधि ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL