Logo

क्षमतामा ७ नम्बर पावर र पैसाले १ नम्बरमा नियुक्ति, नेप्सेमा साउदको पदबहालीसँगै गैरकानूनी काम मात्रै

क्षमतामा ७ नम्बर पावर र पैसाले १ नम्बरमा नियुक्ति, नेप्सेमा साउदको पदबहालीसँगै गैरकानूनी काम मात्रै



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएकै समयदेखि विभिन्न विवादमा ताएिका चन्द्रसिंह साउदको त्यसयता धेरैजसो गैरकानूनी क्रियाकलापमा संलग्न भएको घटनाहरु बाहिर आएका छन् । नेप्सेको सिइओमा नियुक्रि हुँदा नै लिखित र कार्यपत्र प्रस्तुतिमा न्यून नम्बर पाएका साउदले शक्ति र पैसाको बलमा नेप्सेको सिइओ हत्याएको आरोप लागेको थियो ।

लिखित र कार्यपत्र प्रस्तुतिको मूल्याङ्कनमा ७ नम्बरमा रहेका साउदलाई तत्कालीन प्रधानमन्त्री शेरबहादूर देउवाको साला भूषण राणा र नयाँ शक्तिको जोडबलमा नेप्सेका सीईओ बनाइएको थियो । नेप्सेको सीईओ छनौट समितिले उच्च नम्बर ल्याउने उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गर्नुपर्ने भएपनि उनले शक्तिको आडमा ३ जनाको सर्टलिस्टमा परेर नेप्सेको सिइओ नियुक्त भएका थिए । तत्कालनि समयमा नियुक्त हुँदा पैसाको चलखेलमा नियुक्त भएको समेत उनीमाथि आरोप लागेको थियो ।

साउदको नियुक्तिसँगै सेयर बजारमा सुधारका लागि लगानीकर्ताले विभिन्न माग राख्दै आएपनि हालसम्म सुनुवाई भएको थिएन । हाल भैरहेको नेप्सेको टीएमएसले काम नगरेको, वाईकोले बनाएको सफ्टवेयरले काम नगरेको जस्ता माग राख्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका थिए । तर, साउदले भने त्यसलाई समयसापेक्ष परिमार्जन गर्नुको सट्टा सोही सफ्टवेयर उपयुक्त रहेको र लगानीकर्ताले सफ्टवेयर चलाउन नजानेको जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएका थिए ।

केही समयअघि धितोपत्र बोर्डले विभिन्न ५१ ओटा कम्पनीमा सेयर कर्नरिङ तथा अनावश्यक रुपमा मूल्य बढाइएको भनेर विज्ञप्ति निकाल्दा समेत त्यसको विरोधमा उत्रिएका साउदको अहिले तिनै कम्पनीहरुमा विभिन्न माध्यमबाट गैरकानूनी रुपमा दोस्रो बजारमा लगानी गर्दै आएको पुष्टि भएको छ ।

उनले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्ट तथा शिवम् सिमेन्टको सेयर खरिद गरेको, कतिपय कम्पनीको लिलामीमा समेत आफै संलग्न भएको तथा नियम विपरित सेयरमा लगानी गर्न इन्भेष्टमेन्ट कम्पनी नै संचालन गर्दै आएको तथ्य बाहिर आएको छ । हाल उनको चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टले सेयरमा लगानी गर्दै आएको छ । उनले कतिपय अवस्थामा साथीहरुसँग आफुले नेप्सेमा सीईओको पदमात्रै सम्हालेको तर काम भने सेयर बजारमै लगानी गर्ने भन्दै सोही अनुरुपका योजनासमेत ल्याउन आग्रह गर्ने गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘उनले केही साथीहरुसँग मिलेर सेयर बजारमै लगानी गर्नका लागि इन्भेष्टमेन्ट कम्पनी समेत खोलेका छन्,’ एक लगानीकर्ताले भने, ‘उनले सो कम्पनी र आफ्नो परिवारको नजिकका व्यक्तिमार्फत अहिले पनि सेयर बजारमा ठूलो लगानी गर्दै आएका छन् ।’

तर पछिल्लो समय उनले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर आफ्नो श्रीमतीको नाममा खरिद गरेर झनै ठूलो गैरकानूनी काम गरेको भेटिएको हो । साउद आफैले सिभिल लघुवित्तको सेयर अक्सनमा आवेदन दिएको र सर्वोत्तम सिमेन्टमासमेत आफ्नो श्रीमती शुशीला कुमारी बोहोराको नाममा सेयर खरिद गरेका छन् ।

उनी कामभन्दा पनि पैसा र शक्तिको आडमा जे पनि आफ्नो पक्षमा गर्न सकिन्छ भन्ने मानसिकताका साथ अघि बढेको र अहिले पनि देउवा सरकारनै आएकाले पुनः आफु नेप्सेको सीईओमा दोहोरिने भन्दै साथीभाईलाई आश्वासन बाँड्न थालेको समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । तर, संसारको कुनै पनि स्टक एक्स्चेञ्जमा यतिसम्मको अराजता नभएको र यस्तो अराजकता हुँदा पनि सरकारले छानविनको दायरामा ल्याएर कारबाही गर्न सकेन भने पूँजी बजारमा भइरहेको ४० लाख लगानीकर्ताको लगानी डुब्ने खतरा उच्च हुने समेत लगानीकर्ताहरुनै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्