काठमाडौं । नेपालमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा कमी ल्याउने सरकारी घोाषणा विपरित एकै वर्षमा ६३ अर्ब रुपैयाँ बढीको प्लाष्टिकजन्य सामाग्री आयात भएको छ । सरकारले वातावरण प्रदूणमा प्लाष्टिकजन्य सामग्रीे प्रमुख कारण रहेको बताउँदै प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तुको उपयोगमा कडाई गर्ने बताएपनि गत आर्थिक बर्ष २०७७÷७८ मा ६३ अर्ब बढीको प्लाष्टिकजन्य सामग्री आयात भएको हो ।
भन्सार विभागका अनुसार नेपालमा सबैभन्दा बढी आयात हुने स्थानको ८ औं स्थानमा पर्ने प्लाष्टिकजन्य सामग्री रहेको छ । विभागका अनुसार आर्थिक बर्ष २०७७÷७८ मा ६३ अर्ब ६ करोड ९६ लाख ७७ हजार रुपैयाँ बराबरको प्लाष्टिकजन्य सामग्री नेपाल भित्रिएको छ । नेपालमा विभिन्न २६ शीर्षकमा आयात हुने प्लाष्टिकजन्य सामग्री पछिल्लो समय दैनिक जीवनमा बढी प्रयोगमा आउने वस्तुका रुपमा रहेको छ । हाल हरेक काममा यसको उपयोगिता बढ्दो छ । घरमा खानेकुरा राख्नेदेखि अफिसमा प्रयोग हुने कुर्ची र टेबुलसम्म प्लाष्टिकको प्रयोग गर्ने प्रचलन बढ्दो छ । प्रयोग बढ्दै जाँदा नेपालले गत आवमा विभिन्न देशबाट गरी ४३ करोड ७५ लाख ७८ हजार किलो प्लाष्टिक आयात गरेको छ ।
नेपालमा विभिन्न देशबाट आयात हुने प्लाष्टिकजन्य सामग्री विभिन्न स्वरुपमा आयात हुने गरेको छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालले प्लाष्टिकबाट निर्मित चुरा, टिकीलगायत श्रृङ्गारका सामग्री मात्रै १० करोड बढीको आयात भएको देखिन्छ । यस्तै प्लाष्टिकबाटै निर्मित विभिन्न गहनाहरु पनि यस अवधिमा ६ करोड ७४ लाख रुपैयाँ बराबरको आयात भएको देखिन्छ । नेपालमा गहनाका लागि मात्रै नभई कृषि क्षेत्रमा आवश्यक टनेलका लागि आउने त्रिपाल पनि उल्लेख्य मात्रामा आयात भएको देखिन्छ । भन्सार विभागका अनुसार यो शीर्षकमा गत आव भरी ४० करोड बढीको आयात भएको छ ।
फेस सिल्डको आयात उल्लेख्य
कोरोना महामारी फैलिरहँदा सुरक्षाका लािग भन्दै प्रयोगमा ल्याइएको फेससिल्डको प्रयोग नेपालमा पनि बढेको देख्न सकिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्षभर पारदर्शी प्लाष्टिकबाट निर्मित अनुहार छोप्ने फेससिल्ड मात्रै ४२ करोड ३४ लाख ४१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आवमा झण्डै साढे ८५ हजार थान फेससिल्ड आयात भएको हो । यस्तै सर्जिकल प्रयोगकै लागि प्रयोग हुने प्लाष्टिकको एप्रोन र गाउन पनि उत्तिकै मात्रामा आयात भएको देखिन्छ । गत आवमा यो शीर्षकमा झण्डै १ अर्बको आयात भएको छ ।
यस्तै यस अवधिमा नेपालले विदेशबाट प्लाष्टिकबाट निर्मित अण्डाको क्रेट, विरुवा राख्ने क्रेट ट्रेलगायत पनि आयात गरेको छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालले अण्डाको क्रेटमात्रै ७४ लाख ६६ हजार रुपैयाँ बराबरको साढे १८ हजार किलो आयात गरेको छ ।
नेपालले गत आवमा चीन, भारत, साउदी अरेबिया, रोमानिया, कतार, स्विडेन, सिंगापुर थाईल्याण्ड टर्कीलगायत देशबाट प्लाष्टिक र यसबाट निर्मित सामग्रीहरु आयात गरेको हो ।
९७ करोड रुपैयाँको निर्यात
गत आवमा नेपालले बाहिरबाट प्लाष्टिक आयातमात्रै नगरी निर्यात पनि उत्तिकै गरेको देखिन्छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालले विदेशमा झण्डै ९७ करोड रुपैयाँ बराबरको प्लाष्टिक निर्यात गरेको छ । बाहिरबाट कच्चा प्लाष्टिक ल्याएर नेपालमा विभिन्न सामग्री बनाई बाहिर पठाउने क्रम बढेसँगै प्लाष्टिकसमेत निर्यातको सूचीमा परेको हो । नेपालले भारत, अमेरिका, मलेसिया, बेलायतलगायत देशमा प्लाष्टिकबाट निर्मित गरगहना, पाईप, उद्योगधन्दामा प्रयोग हुने रासायनिक प्लाष्टिकलगायत निर्यात गर्ने गर्दछ ।