Logo

नाम सार्वजनिक भएपछि वर्ल्ड ट्रेड सेन्टरसहित ५ ठूला करदाता आए सम्पर्कमा, बुझाए १ करोड ५३ लाख कर

नाम सार्वजनिक भएपछि वर्ल्ड ट्रेड सेन्टरसहित ५ ठूला करदाता आए सम्पर्कमा, बुझाए १ करोड ५३ लाख कर



काठमाडौं । काठमाडौँ महानगरको राजस्व विभागले घरजग्गा/सम्पत्ति कर नतिर्ने सूचीमा राखेर नाम सार्वजनिक गरेका करदातामध्ये अधिकांश सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन्, केहीले विवरण पेश गरेका छन् । केहीले विवरण पेश गर्ने समय माग गरेका छन् । केहीलाई भोलि बोलाइएको छ भने केहीले अझै पनि सम्पर्क गरेका छैनन् । पहिलो चरणमा २३ करदाताको नाम सार्वजनिक गर्ने तयारी थियो । यो क्रम चलिरहँदा अन्तिममा ३ वटा सम्पर्कमा आएर कर तिर्ने प्रतिवद्धता जनाएपछि २० वटाको नाम सार्वजनिक गरिएको थियो ।

सम्पर्कमा आएकामध्ये ४ वटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा १ करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएको महानगरपालिकाले जानकारी दिएको छ ।

यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्र्स एण्ड इञ्जिनियरिङ् (बल्र्ड टे«ड सेन्टर) ले आज १ करोड रुपैयाँ बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो २० दिनभित्र सम्पत्तिको मुल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिएका महानगरले जानकारी दिएको छ ।

आजै वडा १४ को नेशनल हस्पिटलले २४ लाख रुपैयाँ, वडा १४ कै सहिद मेमोरियल हस्पिटलले १९ लाख २० हजार रुपैयाँ दाखिला गरेका छन् । यी अस्पतालहरुले नाम सार्वजनिक हुनु अगाडि नै विभागमा सम्पर्क गरेर कर तिर्ने प्रतिवद्धता जनाएका थिए । यी अस्पतालको नाम सार्वजनिक सूचनामा उल्लेख गरिएको थिएन ।

नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लवले १० लाख रुपैयाँ दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिवद्धता जनाएको छ ।
आजै वडा ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा १३ को काठमाडौँ इञ्जिनियरिङ् कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ ।

महानगरले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरुले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित माइकिङ् गरेको थियो ।

आजसम्ममा अधिकांश सम्पर्कमा आए पनि केही अझै पनि आएका छैनन् । सम्पर्कमा आउनेहरुले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएका छौँ । नआउनेहरुलाई विभागले कडाइका साथ कानुनी कारवाही अगाडि बढाउने तयारी गरेको छ । विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन् । सम्पर्कमा आउनेहरुमध्ये आज सबैसँग छलफल गर्न नपाएपछि केहीलाई भोलिका लागि बोलाइएको छ । भोलि सम्पर्कमा आउने र नआउनेको सूची तयार पाछौँ । सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।

यी करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठिन छ । तर, विभागले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेको छ ।

राजस्व अधिकृत प्रदीप कोइरालाकाअनुसार आज सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गा सम्बन्धी विवरण नै बुझाएका छैनन् ।

घरजग्गा सम्बन्धि विवरण नबुझाउने अन्य ठूला करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल. आर. आइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् । यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि. हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL