Logo

सेयर बजार शुद्धिकरणमा अर्थको एग्रेसिभ मुभ, इन्साइडर ट्रेडिङ र गैरकानूनी कारोबारको छानविन गर्न पावरफुल कमिटी बनाउँदै

सेयर बजार शुद्धिकरणमा अर्थको एग्रेसिभ मुभ, इन्साइडर ट्रेडिङ र गैरकानूनी कारोबारको छानविन गर्न पावरफुल कमिटी बनाउँदै



काठमाडौं । सेयर बजारमा सर्वसाधारण लाखौं जनताको लगानी डुब्ने खतरा बढेको भन्दै अर्थ मन्त्रालयले सो सम्बन्धमा छानविन गर्ने भएको छ । पछिल्लो समय नियामक निकाय, सूचीकृत कम्पनीका संचालक तथा उच्च तहका कर्मचारी, सेयर ब्रोकर र सीमित लगानीकर्ताले सेयर बजारलाई आफ्नो कब्जामा राख्न खोजेपछि अर्थमन्त्रालयले सो सम्बन्धमा छानविन प्रक्रिया अघि बढाएको हो ।

सरकारले सेयर बजारलाई सर्वसाधारको पहुँचमा पुर्याउने बताइरहँदा सीमित व्यक्तिले मात्रै फाइदा लिने गरी उच्च चलखेल भएको निष्कर्ष सहित अर्थमन्त्रालयले शुद्धिकरणअभियान शुरु गरेको हो । ‘गत हप्तामात्रै हामीले धितोपत्र बोर्ड र नेप्सेका उच्च पदाधिकारीले गलत कार्य गरेको जानकारी आएसँगै ३ दिनभित्र स्पष्टिकरण दिन पत्र काटेका छौं,’ अर्थ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘साथै सेयर बजारमा नियामक निकाय, सूचीकृत कम्पनीका संचालक तथा व्यवस्थापन, ब्रोकर र सीमित लगानीकर्ताले गैरकानूनी कार्य गर्दै सोझा लगानीकर्तालाई फसाएर अकुत मुनाफा गरेको उजुरीहरु हामीकहाँ आइपुगेको छ यस विषयमा पनि हामीले छानविन गर्ने छौं ।’

अर्थ मन्त्रालय स्रोतका अनुसार सो सम्बन्धमा छानविन गर्न छुट्टै पावरफुल कमिटीनै गठन गर्ने तयारी भइरहेको छ । विषेशगरी उक्त समितिले हाल सेयर बजारमा कसले कसरी इन्साइडर ट्रेडिङ गरेका छन्, कसले नियमविपरित सेयर कारोबार गर्दै आएका छन् र कसले कुन स्रोतबाट पैसा ल्याएर सेयर बजारमा लगानी गरिरहेका छन् सो सम्बन्धमा छानविन गर्ने समेत अर्थ मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

नयाँ अर्थमन्त्रीमा जनार्दन शर्माले पदबहाली गरेसँगै पत्रकारसँगको भेटमा सेयर बजारलाई कसरी हुन्छ जनस्तरसम्म पुर्याउन आफुले समयसापेक्ष नियम कानूनसमेत परिमार्जन गर्ने बताएका थिए । तर त्यससँगै पूँजी बजारमा शुद्धीकरणसमेत आवश्यक भएको उनको तर्क थियो । सोहीअनुरुप पछिल्लो समय सेयर बजारमा एकपछि अर्को गर्दै गैर कानूनी क्रियाकलाप भइरहेको घटना बाहिर आएसँगै अर्थमन्त्रालयले यस विषयमा थप शुद्धीकरणको लागि कमिटीनै गठन गरेर छानविन प्रक्रिया अघि बढाउन लागेको हो ।

पछिल्लो समय लगानीकर्ताहरुले ब्रोकरहरु बजारको ठूला खेलाडी भएको र उनीहरुकै मिलेमतोमा बजारमा चलखेल भइरहेको गुनासो गर्दै आएका छन् । हाल संचालित ब्रोकर कम्पनीसँग ४ अर्ब रुपैयाँको फण्ड हुने र उनीहरुले बजारमा म्यानुपुलेसन गर्न आफु नजिकका व्यक्तिको नाममा सेयर खरिद गरेर गैरकानूनी क्रियाकलाप गर्दै आएको समेत सम्बद्ध लगानीकर्ताहरुको गुनासो छ । ‘कानूनत सेयर ब्रोकरहरु आफुले सेयर खरिद गर्न पाउँदैनन्,’ एक लगानीकर्ताले भने, ‘तर उनीहरुले आफ्नो ससुराली, साली, मावलीतर्फका आफन्त र आफु नजिकका व्यक्तिको नाममा सेयर खरिदबिक्री गर्दै बजारमा चलखेल गर्दै आएका छन् ।’

यसैगरी नेप्से तथा धितोपत्र बोर्डजस्ता नियामक निकायमा रहेका व्यक्तिले पनि हाल इन्भेष्टमेन्ट कम्पनीनै खोलेर सेयर बजारमा लगानी गर्दै आएको समेत भेटिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘बजारमा धितोपत्र बोर्ड तथा नेप्सेमा रहेका व्यक्तिले लगानी गर्न मिल्दैन,’ अर्थ स्रोतले भन्यो, ‘तर तिनै निकायको उच्च पदमा रहेका व्यक्तिले सेयर बजारमा लगानी गर्न इन्भेटमेन्ट कम्पनीनै खोलेर लगानी गर्दै आएको भेटिएको छ ।’

यसैगरी छोटो समय लकिङ पिरियड भएका जलविद्युत कम्पनी, रियल सेक्टर लगायतका कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेसँगै ३ बर्षसम्म लगानीकर्तालाई केही नदिने र लकिङ पिरियड सकिएर प्रमोटरको सेयर दास्रो बजारमा कारोबारमा आउने समयमा बोनस र राईट सेयर घोषणा गर्ने गरेका छन् । यसरी एकैपटक उच्च बोनस र राईट घोषण गर्दा बजारमा सेयर मूल्य बढ्ने र सोही समयमा प्रमोटरहरुले आफुसँग भएको सेयर बिक्री गरेर कम्पनीबाटैै बाहिरिने गरेका छन् । जसका कारण त्यस्ता कम्पनीमा लगानीगर्ने लगानीकर्ता फस्ने सम्भावना उच्च रहेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । यस विषयमा समेत अर्थ मन्त्रालयले चासो देखाएको छ ।

हाल कतिपय कम्पनीले नियामक निकाय तथा साधारण सभाबाट पारित नभइकन कम्पनी संचालक समितिबाट प्रस्ताव गरेर ठूलो मात्रामा हकप्रद सेयर निष्काशन गर्ने भन्दै सूचना बाहिर ल्याउने गरेका छन् । सोही हल्लााको पछि लागेर बजार बढाउने र पछि नियामक निकायले त्यसलाई स्वीकृति नदिएको खण्डमा लगानीकर्ताहरु फस्दै आएका छन् । साथै त्यस्ता सूचनाको जिम्मेवारी कसैले पनि नलिने हुँदा त्यसरी सूचानको पासो थापेर बजारलाई म्यानुपुलेसन गर्नेहरुले पनि उन्मुक्ति पाउँदै आएका छन् ।

बजारमा म्युचुअल फण्ड, सूचीकृत कम्पनीको उच्च तहका कर्मचारीहरुले समेत सूचनाको आधारमा गैरकानूनी रुपमा सेयर कारोबार गर्दै आएको सूचनाहरु समेत अर्थमन्त्रालयमा पुगेको छ । ब्रोकर, म्युचुअल फण्ड, राष्ट्र बैंक र सूचीकृत कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले आफ्नो नाममा दोस्रो बजारमा सेयर खरिद गर्न नमिले पनि उनीहरुले भित्री सूचनाको पहुँचको आधारमा आफन्तको नाममा ठूलो मात्रामा सेयर खरिदबिक्री गर्दै आएको गुनासाहरु आएको अर्थ स्रोतले जानकारी दिएको छ । आगामी दिनमा सेयर बजारलाई जनमुखी बनाई जनस्तरमा पुहँच पुर्याएर उनीहरुलाई फस्नबाट जोगाउनका लागि पनि यस क्षेत्रमा भैरहेको विकृतिको बारेमा छाननिव गर्न लागिएको अर्थ स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL