Logo

२ घण्टा चार्ज गर्दा २ सय किलोमिटर चल्ने बस ल्याउँदै महानगरपालिका

२ घण्टा चार्ज गर्दा २ सय किलोमिटर चल्ने बस ल्याउँदै महानगरपालिका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगर पालिकाले २ घण्टा चार्ज गर्दा २ सय किलोटिर चल्ने इलेक्ट्रिक बस संचालनमा ल्याउने भएको छ । महानगरपालिकाले चीन सरकारको सहयोगमा उक्त वस ल्याउन लागेको हो । ‘चीन सरकारले हामीलाई अनुदानमा वस उपलब्ध गराउने भएको छ,’ महानगरपालिकाको पब्लिक प्राइभेट पाटर्नसिप शाखाका प्रमुख शिवराज अधिकारीले भने, ‘हामीले कम समय चार्जगर्दा बढी समय चल्ने बस ल्याउनका लागि गृहकार्यगरिरहेका छौं ।’

उक्त बस काठमाडौं उपत्यकामा संचालन गर्नका लागि एकदमै उपयुक्त समेत महानगरपालिकाले जानकारी दिएको छ ।

उनका अनुसार थोरै चार्जमा बढी समय चल्ने वस ल्याउनका लागि मध्यस्तकर्तासँग छलफल भइरहेको छ । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिन लागेको हो । साथै नेपाल सरकारले काठमाडौं महानगरपालिकासँग मिलेर १० ओटा विद्युतीय बस खरीद प्रक्रिया अघि बढाएको छ ।

बस ल्याउनका लागि मध्यस्तकर्ता ड्रयागन मोटर्ससँग छलफल भइरहेको समेत उनले जानकारी दिए । ‘मध्यस्तकर्ताले आगामी मंगलवारसम्म अध्ययनको फाइनल रिपोर्ट दिने भनेको छ,’ उनले भने, ‘त्यसपछि प्रक्रिया पुरा भएलगतै सरकारका प्रतिनिधीका साथै महानगरका प्रतिनिधी बस लिन चीन तार्फ लाग्नेछ ।’ टोलीले चीन सरकारसँग सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने भएको छ ।

चीन सरकारले महानगरपालिकालाई ३५ सीट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेको छ । तर, महानगरपालिकाले भने कम्तीमा ४० सीट भएको बस दिन आग्रह गर्दै आएको छ । सानो बस ल्याउदा भन्सार छुटमा समस्या हुने र थोरै यात्रु अट्ने भएकाले पनि बढी सीट भएको बस ल्याउन गृहकार्य गरिएको उनको भनाइ छ ।

त्यस्तै चीन सरकारले १ ओटा ढोका भएको बस दिने भनेकोमा महानगरपालिकाले उक्लने तथा ओर्लने गरी २ ओटा ढोका सहितको कम्तिमा ११ मिटर लामो बस माग गरेको उनले जानकारी दिए । महानगरका अनुसार ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् ।

भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्तीमा भएको समस्याको मध्यनजर गर्दै चीन सरकारले स्थानीय विकास मन्त्रालयमार्फत नेपाललाई त्यस्ता बस दिन लागेको हो । महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ ।

किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ । चीनले उपलब्ध गराउन लागेका ती वसको मूल्य २ करोड रुपैयाँ हुने महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL