Logo

बेइमान उद्योगी, रमिते सरकार : चिनी उद्योगीले ४० करोड नदिएपछि उखु किसान फेरि आन्दोलनमा

बेइमान उद्योगी, रमिते सरकार : चिनी उद्योगीले ४० करोड नदिएपछि उखु किसान फेरि आन्दोलनमा



काठमाडौं । पछिल्लो ३ बर्षदेखि उखु किसानहरु आन्दोलित छन् । प्रत्येक बर्ष राजधानी आउने र आन्दोलन गर्ने अनि सरकारी पक्षबाट आश्वासन पाएपछि फिर्ता हुने प्रक्रिया जारी छ ।

विस २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलन गरिरहेका किसानहरुले हालसम्म आफुले पाउनुपर्ने सरकारी अनुदान र उखुको रकम भुक्तानी पाएका छैनन् । विस २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो । तर, उक्त सहमति कागजमै सीमित भएको किसानहरु बताउँछन् । आफ्नै परिश्रमको फल पाउन बेलाबेलामा काठमाडौं आइरहनुपर्ने र आन्दोलन गरिरहनुपर्ने अवस्थाका कारण सरकारबाटै दिक्क भएका किसानहरुले यसपटक भने अन्तिम प्रदर्शन गर्ने बताएका छन् ।

आफ्ना मागहरु कागजमै सीमित भएपछि अघिल्लो बर्षको माघ ८ गते सर्लाहीको सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरेर चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरे । तर, चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगित भयो । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले २०७७ कात्तिक २३ गते तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई स्मरण पत्र बुझाएका थिए ।

भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौं धाइसकेका किसानहरुले केपी शर्मा ओलीको सरकारको कार्यकालमा केही रकम भने उठाउन सफल भए । अझै ४० करोड बक्यौता उठ्न बाँकी रहेको बताउने किसानहरुको विवरण र चिनी उद्योगीको विवरण भने मिल्दैन । चिनी उद्योगीहरुले भने सरकारसँग हाल किसानलाई २९ करोड रुपैयाँ मात्रै दिन बाँकी रहेको बताउँदै आएका छन् ।

गत कार्तिकयता केही उद्योगीले किसानलाई रकम भुक्तानी गरे पनि अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बिनीले पूर्ण रूपमा भुक्तानी नदिएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बिजखबरलाई जानकारी दिए । त्यसैका लागि भन्दै पुन ः किसानहरु गत पुसमा पनि काठमाडौंमा आएर आन्दोलनमा उत्रेका थिए ।

त्यो आन्दोलनले पनि उद्योगी र सरकारलाई कुनै असर पारेन र गरिव किसानको गुनासोको सुनुवाई भएन । यसबीचमा सरकार बदलियो र यसअघिका आन्दोलनमा सघाएको सरकार नै सत्तामा आयो । यसरी नयाँ सरकार आएपछि आफ्ना मागहरुको सुनुवाई हुन्छ कि भनेर किसानहरु १ महिनासम्म कुरे । १ महिनासम्म पनि न सरकारले उद्योगीहरुलाई किसानको पैसा दिन निर्देशन दियो त किसानलाई नै छलफलमा बोलायो । यस्तो भएपनि किसान आफै नयाँ सरकारलाई आफ्ना मागहरुको ध्यानाकर्षण गराउन भन्दै काठमाडौंमा आएका हुन् ।

यसअघि आफ्ना मागहरु सुनुवाई नभएपछि किसानहरु ३ दिनअघिदेखि पुनः काठमाडौंमा प्रदर्शनरत छन् । आफुले पाउने उखुको बक्यौता र अनुदान नपाएका कारण नयाँ सरकारलाई पुराना दुखः सुनाउन आईपुगेका किसानहरु शुक्रबार बेलुका घर फर्किका छन् । ३ दिन प्रदर्शनमा रहँदा सरकारी निकायबाट कुनै प्रतिक्रिया नआएको सचिव राय बताउँछन् । शुक्रबार बेलुकासम्म सरकारी निकायबाट कुनै प्रतिक्रिया नआएपछि उनीहरु घर फर्किएका हुन् । उनीहरुले आगामी भदौसम्म पुरै रकम पाउनुपर्ने माग राखेका छन् । यदि यो माग पुरा नभएको अवस्थामा हलो, कोदालो लिएरै आन्दोलनमा आउने तयारी भएको किसान बताउँछन् ।

उखु किसान संघर्ष समितिका सचिव रायले आगामी भदौमा भने सबै किसानहरुले खेतीका लागि आवश्यक सबै उपकरणहरुसहित प्रदर्शन गर्ने बताए । लगातारको आन्दोलन र काठमाडौं बसाईले आफुहरु हैरान भएको भन्दै अब आगामी भदौमा अन्तिम प्रदर्शन गर्ने उनको भनाई छ ।

गत पुसमा आन्दोलन गरेर सरकारबाट केहि आश्वासन पाएका किसानले आश्वासनको कार्यान्वयन नभएपछि यसपाली भने ध्यानाकर्षण गर्नेगरी प्रदर्शन गरेको बताए । ‘हामीले यसपाली आन्दोलन भन्दा पनि नयाँ सरकारलाई ध्यानाकर्षण गराएका हौं,’ उनले भने, ‘हामीलाई यसअघिका आन्दालनमा साथ दिएको सरकार सत्तामा भएकाले आन्दोलन भन्दा पनि ध्यानाकर्षण मात्रै हो ।’

यसअघि उखु कृषकहरुले गरेको आन्दोलनमा नेपाल कांग्रेसलगायत तत्कालीन सरकारका प्रतिपक्षीहरुले साथ दिएका थिए । त्यतिखेर साथ दिने पार्टीकै सरकार आएपछि अब भने आफ्नो बक्यौता पाउनेमा किसानहरु विश्वस्त छन् । तर, किसानहरुले ऋण काढेरै आन्दोलनमा आएको दुख नबुझेको सरकारी निकाय उद्योग मन्त्रालय हाल मन्त्रीविहीन छ ।

संघर्ष समितिका सचिव रायका अनुसार हालसम्म अन्नपुर्ण सुगर मिलले १२ करोड, महालक्ष्मी सुगर मिलले ८ करोढ माथि, श्रीराम सुगर मिलले ३ करोड बढि रुपैयाँ किसानलाई बुझाउन बाँकी छ । यस्तै इन्दिरा सुगर मिलले २ करोड बढी र लुम्बीनी सुगर मिलले पनि २ करोड बढी रकम किसानलाई बक्यौता तिर्न बाँकी छ । यस्तै उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदानसमेत महालक्ष्मी र अन्नपुर्ण सुगर मिलले दिन बाँकी छ ।

मन्त्रालयमा छैन जानकारी

पछिल्लो ३ दिनदेखि किसानहरु आन्दोलनमा भएपनि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा भने यसको जानकारी नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता नारायाण रेग्मीले हालसम्म मन्त्रालयमा उखु किसानहरु आन्दोलन अर्थात प्रदर्शनमा रहेको जानकारी नभएको बताएका छन् । ‘उखु किसानहरु आन्दोलनमा हुनहुन्छ र ? कहिलेदेखि, कहाँ आन्दोलनमा हुनुहुन्छ ?,’ उनले प्रश्न गरे, ‘मन्त्रालयमा त यसको कुनै आधिकारिक जानकारी र ध्यानाकर्षणसम्म आईपुगेको छैन ।’

उद्योगीलाई समेत जानकारी छैन

यता चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवाल पनि आफुलाई किसान काठमाडौंमा आएर प्रदर्शन गरिरहेको जानकारी नभएको बताउँछन् । उनले किसानहरु काठमाडौंमा आएको भन्ने कुनै खबर नपाएको बताए । हालसम्म संघको तर्फबाट बेलाबेलामा किसानको पैसा दिनुपर्छ भन्ने पहल भइरहेपनि उद्योगीहरुले नै नटेरेको उनी बताउँछन् ।

‘यत्रो बर्षसम्म किसानले आफ्नो उत्पादनको पैसा नपाउँदा अवस्था नाजुक बनेको छ,’ उनले भने, ‘यसले किसानहरुमा मात्रै असर नपारी उद्योगको उत्पादकत्वमा पनि ह्रास ल्याईसकेको छ ।’ सरकारले यो पैसा उठाउन केही कडा कदम चालेको खण्डमा मात्रै किसानले आफ्नो रकम पाउन सक्ने सम्भावना रहेको उनी बताउँछन् । सरकारले पनि भनेबमोजिम कडाई नगरेकाले किसानलाई उद्योगीले नपत्याएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्