काठमाडौं । नेपालमा ट्राफिक लाइट स्थापनाको इतिहास पाँच दशक लामो छ । यति लामो इतिहास भएको ट्राफिक लाइट अहिलेसम्म सुधार हुँदै थप आधुनिक र व्यवस्थित हुनुपर्ने हो । सडकमा ट्राफिक व्यवस्थापन सहज हुनुपर्ने हो र ट्राफिक प्रहरीले नयाँ प्रविधि र नयाँ योजना ल्याउनुपर्ने हो । दुर्भाग्य नेपालमा भने सडकमा ट्राफिक व्यवस्थापन दिनानुदिन भद्रगोल हुँदै गएको छ भने ट्राफिक प्रहरीले थप सास्ती भोग्नु परिरहेको छ ।
काठमाडौं । नेपालमा ट्राफिक लाइट स्थापनाको इतिहास पाँच दशक लामो छ । यति लामो इतिहास भएको ट्राफिक लाइट अहिलेसम्म सुधार हुँदै थप आधुनिक र व्यवस्थित हुनुपर्ने हो । सडकमा ट्राफिक व्यवस्थापन सहज हुनुपर्ने हो र ट्राफिक प्रहरीले नयाँ प्रविधि र नयाँ योजना ल्याउनुपर्ने हो । दुर्भाग्य नेपालमा भने सडकमा ट्राफिक व्यवस्थापन दिनानुदिन भद्रगोल हुँदै गएको छ भने ट्राफिक प्रहरीले थप सास्ती भोग्नु परिरहेको छ ।
पछिल्लो समय बढ्दै गएको सवारीको संख्याका कारण जामका कारण दैनिक यात्रुहरु तथा सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले हैरान खेप्नुपरेको छ । तर, सडकमा ट्राफिक व्यवस्थापका लागि स्थापना गरिएका ट्राफिक लाइटको हविगत नाजुक छ । संघीय राजधानी काठमाडौंलगायत ट्राफिक लाइट जोडिएका देशका अन्य शहरहरुमा पनि उचित व्यवस्थापन हुन नसक्दा सडकमा समस्या बढ्दै गएको छ ।
विश्वका प्रायः देशमा मानिसको आवतजावत हुने फुटपाथदेखि जेब्रा क्रसिङ र सडकका चोक तथा दोबाटाहरुमा ट्राफिक लाइट प्रयोग गरिँदै आएको देखिन्छ । हाल विश्वका विकसित देशहरुमा सडकमा गुड्ने सवारीसाधनहरु निश्चित स्थानमा राखिएका ट्राफिक लाइटको संकेतअनुसार चल्ने गर्छन । जसका कारण सडकमा ट्राफिक प्रहरी खटाउनुपर्ने बाध्यता पनि हुँदैन् । यसले एकातिर सडक व्यवस्थित, चुस्त र सहज भएको देखिन्छ भने अर्कोतर्फ कम जनशक्तिमै प्रभावकारी नतिजा हासिल भएको छ ।
तर, नेपालमा भने ट्राफिक लाइट जडान गरेकै ५४ बर्ष बढी भइसकेपनि सडक तथा चोकहरुबाट अझै ट्राफिक प्रहरीलाई विस्थापन गर्न सकिएको छैन । नेपालमा बिसं २०२४ सालमा पहिलोपटक सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा ट्राफिक लाइट जडान गरिएको थियो । तत्कालीन समयमा जडान गरिएका उक्त लाइटहरु विग्रिए ।
त्यसपछि विसं २०५८ सालतिर जापानी सहयोग नियोग (जाइका) ले दुई चरणमा गरी उपत्यकाका २० ठाउँमा ट्राफिक लाइट जडान गरिदियो । जसमा थापाथली चोक, माइतीघर चोक , केशरमहल मार्ग, पद्मोदय मार्ग, बागबजार, कालिमाटी, नयाँबानेश्वरलगायत व्यस्त ठाउँमा राखिएका ती लाइटले हाल काम गर्न छोडिसकेका छन् ।
त्यसपश्चात पुनः तीनकुने–सूर्यविनायक सडक तयार भएपछि सूर्यविनायक, सल्लाघारी, ठिमी, गठ्ठाघर र कौशलटारमा जापान सरकारले नै ट्राफिक लाइट राख्यो । जुन हाल पनि सञ्चालनमा छन । सम्बन्धित निकायले राम्रोसँग ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा विशेष ध्यान नदिँदा ट्राफिक लाइटको आवश्यकता बढेपनि उपयोगिता भने हुन सकेको छैन् ।
हाल काठमाडौंका विभन्नि स्थानमा ट्राफिक लाइट राखिएको भएपनि कहिले बल्ने र कहिले बन्द हुने अवस्था छ । बन्द भएको बेलामा ट्राफिक प्रहरीले ठूलो दुख झेल्नुपरेको ट्राफिक प्रहरीका एसपी तथा प्रवक्ता संजीव शर्मा दास बताउँछन् । उनका अनुसार हाल काठमाडौंका धेरै चोक तथा स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । तर, धेरै स्थानमा हप्तामा २ दिन चल्ने र ५ दिन बन्द हुने अवस्था छ । लाइट बन्द हुँदा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई थामिनसक्नु दुखः हुन्छ ।
ड्युटीका खटिएका ट्राफिक प्रहरीले हिलो, धुलो, जाडो, गर्मी केही नभनि सडकमा उभिएर ट्राफिक फ्लोलाई नियन्त्रण गर्ने गर्दछन् र व्यवस्थापन गर्छन । नेपालमा अहिलेसम्म ट्राफिक लाइट भएका स्थानमा पनि उपयुक्त नियम लागू नभइसकेको पनि उनी बताउँछन् । जसका कारण लाइट बलिरहेको स्थानमा पनि ट्राफिक प्रहरीले आफ्नो ईशारा भने छोड्न पाईँदैन । ‘नेपालका चालकहरुले अझै ट्राफिकको नियम र नैतिकता बुझिसकेका छैनन,’ उनले भने, ‘लाइट रातो बलिरहेको बेलामा पनि हिँडदिने, फुटपाथमा हिंड्ने मानिसहरु पनि हरियो नबलेकै बेला बाटो काटिदिनेलगायतका समस्या अझै छन् ।’
उनले नेपालमा ट्राफिक लाइटको प्रभावकारिताका लागि सबै चोक तथा सडकमा लाइटको प्रयोग निरन्तर गरेर २ बर्षसम्म कडा नियम लागु गर्नुपर्ने प्रवक्रा दास बताउँछन् । यसो गर्न सकेमात्र चालक देखि यात्रुलाई पनि ट्राफिक लाइटको बानी पार्न सकिने उनले बताए । ‘ट्राफिक लाइट कहिले बल्ने र कहिले नबल्ने समस्याका कारण नियम भनेबमोजिम लगाउन सकिएको छैन,’ उनी भन्छन ।
ट्राफिक लाइट जडानको कार्य गर्ने सडक विभागले भने पछिल्लो समय काठमाडौंका अन्य २८ स्थानमा नयाँ लाइट जडान गर्नेगरी ठेक्का लगाउने तयारी गरेको छ । विभागस्थित सडक सुरक्षा तथा ट्रफिक शाखा प्रमुख कृष्ण ओझाका अनुसार हाल उपत्यकाका ३८ स्थानमा ट्राफिक लाइट बलिरहेका छन् । तर, हालसम्म विग्रेको भन्ने खबर विभागसम्म पुगेको छैन । यस्तै पछिल्लो समय अन्य निकाय जस्तै विभिन्न कम्पनी, महानगरपालिकालगायतले पनि विभिन्न स्थानमा ट्राफिक लाइटहरु राखिरहेकाले ३८ स्थानमा मात्रै नभई अन्य स्थानमा पनि लाइट हुनसक्ने अनुमान उनको छ । कुनै पनि कम्पनीले सडकमा ट्राफिक लाइट जडान गर्नुपरेमा विभागको अनुमति लिनुपर्दछ । तर, पछिल्लो समय धेरै निकायले अनुमति नलिईकनै ट्राफिक प्रहरीको उपस्थितिमा लाइट जडान गर्ने र जडान गरिसकेपछि मात्रै विभागमा जानकारी आउने भएकाले एकिन तथ्यांक नरहेको उनको भनाई छ ।
विभागको अध्ययनअनुसार उपत्यकाका ६० ठाउँमा लाइट आवश्यक छ, तीमध्ये ३५ ठाउँमा अत्यावश्यक छ । हाल अत्यावश्यक मानिएका चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचौर, हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायत लाइट जडान गरिएको भने छैन ।
विश्वमा सन १८६८ मा पहिलोपल्ट लण्डनमा ग्याँसबाट चल्ने ट्राफिक लाइटको प्रयोग गरिएको थियो । सडक यातायात नियन्त्रणका लागि प्रयोगमा ल्याईएको यो पहिलो ट्राफिक लाइट म्यानुअल्ली चलाईने गरिन्थ्यो । यो जडान गरेको १ महिनापछि विस्फोट भयो र एक जना प्रहरी घाईतेसमेत भएका थिए । त्यसपछि सन १९१० मा पहिलो स्वचालित ट्राफिक लाइटको प्याटेन्ट शिकागोमा दर्ता भएको देखिन्छ । जसमा अंग्रेजी शब्द ‘स्टप’ र ‘प्रोसिड’को प्रयोग गरिएको थियो । नेपालमा जडान गरिएका ट्राफिक लाइटहरु हाल ट्राफिक कार्यालय बग्गीखानाबाट नियन्त्रण हुने गर्दछन् । यसका लागि सडक विभागले ९० जना ट्राफिकलाई तालिमसमेत दिइसकेको छ ।