काठमाडौं । पेट्रोल पम्पमा रिमोट जडान गरेर ठगिको आरोप लागेका नापतौल तथा गुणस्तर विभागका निर्देशक रामआधार साह र आयल निगमका थानकोट डिपो प्रमुख रविनकुमार शर्मा विरुद्ध मुद्धा दायर भएको छ । सरकारले उनिहरुविरुद्ध ठगी र कालोबजारी दुई अभियोगमा मुद्दा दर्ता गरेको हो ।
सरकारले पम्प सञ्चालकसगै ठगीमा संलग्न रहेको भन्दै सह सचिव साह र उपसचिव शर्मा विरुद्ध काठमाडौ र ललितपुर दुबै जिल्ला अदालतमा यस्तो मुद्दा दायर गरेको छ । सरकारले क्रिस्टल फ्युल सप्लायर्सका मेनेजर कल्याणराज खड्का र सञ्चालक विष्णुबहादुर खड्का, डिलर एसोसिएसनका सचिव हेमविक्रम बराल तथा पेट्रोल पम्पमा रिमोट जडान गर्न मद्दत गर्ने अयुब आलम विरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
आरोपीलाई ऐन अनुसार आरोपीहरुलाई अधिकतम ५ वर्षसम्म कैद र १करोडसम्म जरिवाना हुनु पर्ने माग गरिएको छ । यता ललितपुर जिल्ला अदालतमा दायर गरिएको मुद्दामा नापतौल विभागका तत्कालीन प्रमुख हाल विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिवका रुपमा कार्यरत साह ,शिवप्रसाद तिमिल्सिना, अयुब आलम, शेख इस्तिहाज, महमद अब्बास, हामिद हुसेन, जनार्दन फुयाल, युनुस प्रधान, गोपाल महर्जन, शैलेन्द्रनाथ वादे श्रेष्ठलाई प्रतिबादी बनाइएको छ ।
सरकारले कालोवजारी गरेको अभियोगमा समेत उनीहरु विरुद्ध आरोपपत्र दायर गरेको हो । इन्धन वितरण गर्ने ’नोजल’ मा गियर वा चिप्ससहितको रिमोट जडान गरी हुँदै आएको उपभोक्ता ठगीको जालो केलाउने क्रममा प्रहरीले गुणस्तर तथा नापतौल विभागमै यस्तो सेटिङ हुने गरेको फेला पारेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाले साहलाई गत आइतबार पक्राउ गरेर अनुसन्धान बढाएको थियो ।