Logo

कोरोना कहरबीच पनि नेपालमा लगानीको आकर्षण कायमै, एक बर्षमा २ खर्बको हाराहारीमा लगानी प्रतिबद्धता

कोरोना कहरबीच पनि नेपालमा लगानीको आकर्षण कायमै, एक बर्षमा २ खर्बको हाराहारीमा लगानी प्रतिबद्धता



काठमाडौं । डेढ वर्षयता नेपाललगायत विश्व नै कोरोना संक्रमण (कोभिड–१९) को महामारीका कारण प्रभावित भएको अवस्था छ । कोभिडकै कारण विश्व अर्थतन्त्रले नै मन्दीको सामना गरिरहेको छ । तर, नेपालमा महामारीको अवस्थामा पनि लगानीकर्ताको आकर्षण भने घटेको छैन् । लगानीका लागि ‘भर्जिन ल्याण्ड’का रुपमा पनि चिनिएको नेपालमा लगानीकर्ताहरुले लगानी सम्भावना पहिल्याइरहेका छन् ।

यसको उदाहरण लगभग पुरै समया कोभिडको चपेटामा परेको गत आर्थिक बर्ष २०७७÷७८ मा मात्रै १ खर्ब ५८ अर्ब बढीको स्वदेशी लगानी प्रतिवद्धता र ३२ अर्ब १४ करोड ७८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएकोलाई लिन सकिन्छ । एक वर्षमा स्वदेशी र वैदेशिक लगानी प्रतिवद्धता झण्डै २ खर्बको हाराहारीमा रहेको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत बर्षको असार मसान्तदेखि यो बर्षको साउन १ गतेसम्मको अवधिमा विभिन्न २ सय ६ परियोजनामा १ खर्ब ५८ अर्ब ३ करोड ८२ लाख रुपैयाँ बढीको स्वदेशी लगानी प्रतिवद्धता आएको हो । अघिल्लो आव २०७६÷७७ मा भने १ खर्ब ५३ अर्ब ९२ करोड ५२ लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता स्वीकृत भएको थियो । २ सय ७८ परियोजनामार्फत आएका प्रतिवद्धताअनुसार १७ हजार ४ सय २ जनाले रोजगारी पाउने बताइएको थियो । गत आवमा भने सबैभन्दा बढी स्वदेशी लगानी प्रतिवद्धता उर्जामुलक क्षेत्रमा रहेको देखिन्छ । उद्योग विभागका अनुसार गत आवमा उर्जामुलक क्षेत्रका ३१ परियोजनामार्फत १ खर्ब १० अर्ब ५७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस्तै धेरै लगानी प्रतिवद्धता आउने अर्काे क्षेत्र भने उत्पादनमुलक क्षेत्र रहेको छ । यस क्षेत्रमा परियोजनाको संख्या उर्जामुलक क्षेत्रको तुलनामा बढी भएपनि लगानी भने कम देखिन्छ । उर्जामुलक क्षेत्रका परियोना ठूला र बढी लागतका हुने भएकाले संख्यात्मक आधारमा कम भएपनि लागतका आधारमा बढी हुने गरेको विभागका प्रवक्ता ज्ञानेन्द्रप्रसाद पराजुली बताउँछन् । उनका अनुुसार गत आवमा उत्पादनमुलक क्षेत्रमा भने १९ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो क्षेत्रका ७२ परियोजना विभागले स्वीकृत गरेको छ ।

यस्तै पर्यटन क्षेत्रका ४० उद्योगमार्फत १३ अर्ब बढीको लगानी स्वीकृत गत आवमा भएको छ । सेवा क्षेत्र, खनिज क्षेत्र, कृषि तथा वन पैदावारलगायतका क्षेत्रहरुमा पनि उल्लेख्य मात्रामा लगानी स्वीकृत भएको देखिन्छ । यी सबै क्षेत्रका २ सय ६ परियोजनामा ११ हजार ९ सय ८१ जनाले रोजगारी पाउने बताइएको छ ।

वैदेशिक लगानीमा गिरावट

गत आवमा वैदेशिक लगानी भने अघिल्लो आवको तुलनामा केही घटेको देखिन्छ । अस्थिर राजनीति तथा कोरोना महामारीका कारण गत आवमा भित्रिने वैदेशिक लगानीमा गिरावट आएको छ । गत आवको निषेधाज्ञा अवधिमा पनि उद्योग विभागबाट हुने कामहरु निरन्तर रहेपनि लगानी प्रतिवद्धतामा भने गिरावट आएको छ ।

विभागका अुनसार गत आवमा ३२ अर्ब १४ करोड ७८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ७ अर्ब रुपैयाँले कम हो । अघिल्लो आवको सोही अवधिमा नेपालमा २ सय ३२ परियोजनामार्फत ३९ अर्ब १५ करोड ५८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा

दुई चरणको कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रमा पुनः विदेशी लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । उद्योग विभागका अनुसार गत आर्थिक बर्षभरी विभिन्न १ सय १ परियोजनामार्फत १८ अर्ब ३१ करोड ५ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । जुन अन्य क्षेत्रहरुको तुलनामा सबैभन्दा बढी हो । यस्तै दोस्रो धेरै वैदेशिक लगानी भित्रिएको क्षेत्रमा भने सेवा क्षेत्र रहेको विभागले जानकारी दिएको छ ।

यस अवधिमा सेवाक्षेत्रका विभिन्न ५ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा यी २ क्षेत्रमा ११–११ अर्ब बढी लगानी प्रतिवद्धता आएको देखिन्छ । यस्तै गत आर्थिक बर्षमा कृषि तथा वन पैदावारका ३, उर्जामुलक क्षेत्रका ४, संचार तथा प्रविधि क्षेत्रका १५ र उत्पादनमुलक क्षेत्रका २० परियोजनामार्फत वैदेशिक लगानी प्रतिवद्धता आएको देखिन्छ । जसमार्फत ५ हजार ८ सय ७१ जनाले रोजगारी पाउने बताईएको छ ।

चीनबाट मात्रै २२ अर्ब बढी लगानी प्रतिवद्धता

गत आव भरीमा विभिन्न क्षेत्रमा चीनबाट मात्रै २२ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार विभिन्न क्षेत्रका १ सय ४१ परियोजनामार्फत चीनको उक्त लगानी प्रतिवद्धता स्वीकृत भएको हो । यस्तै नेपालमा धेरै लगानी भित्र्याउने दोस्रो ठुलो राष्ट्र भने ब्रिटिस भर्जिन आइसल्याण्ड रहेको छ ।

सो देशबाट नेपालमा आवभरी जम्मा एक परियोजनामार्फत ३ अर्ब बराबरको लगानी प्रतिवद्धता आएको छ । उक्त राष्ट्रबाट पोखरामा ९० बेडको होटल र २ सय जना अट्ने रेष्टुरेण्ट संचालनका लागि उक्त लगानी प्रतिवद्धता आएको देखिन्छ । विभागका अनुसार तारे होटल संचालन गर्नेगरी आएको उक्त प्रतिवद्धतामार्फत १ सय ४६ जनाले रोजगारी पाउनेछन् ।

यस्तै अन्य धेरै लगानी भित्र्याउने राष्ट्रहरुमा सिंगापुर, अमेरिका, हंगकंग, भारतलगायत देश रहेका छन् । यी देशबाट उक्त अवधिमा क्रमशः १ अर्ब ९१ करोड, १ अर्ब ६२ करोड, १ अर्ब २७ करोड र ७२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL