Logo

चर्काे मिटरब्याज लिने एक पक्राउ, उन्नाइस करोड ४३ लाखको चेक बरामद

चर्काे मिटरब्याज लिने एक पक्राउ, उन्नाइस करोड ४३ लाखको चेक बरामद



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको हो ।

दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौँ बस्ने हेमराज गुभाजुले लिएको ऋणमा उनले चर्को मिटरब्याज लगाएका थिए । प्रकाशबाट पटकपटक गरी ४ करोड १६ लाख रकमको चेक र हेमराज गुभाजुबाट ४ करोड १४ लाखको चेक लिई रकम दिन मानसिक दबाब दिँदै आएको खुलेको छ ।

उनले पीडितलाई त्रासमा पारी बाहिर हिँड्डुल र घुमफिर गर्नसमेत बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरिएको छ । प्रतिवादीले अन्य व्यक्तिसमेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको छ ।

यसैबीच महोत्तरीको पिपरा गाँउपालिकाका फरार प्रतिवादी सन्तोषकुमार मिश्रलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–८ हात्तीगौँडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आजै फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको ब्यूरोले जनाएको छ । लेनदेन बिगो मुद्दामा ३५ लाख र त्यसको ब्याजसमेत भराउने गरी महोत्तरी जिल्ला अदालतले फैसला गरे पनि उनी फरार हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL