Logo

पुनःस्थापित संसद बैठक बस्दैं : आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी, यस्तो छ संसदमा अंकगणित

पुनःस्थापित संसद बैठक बस्दैं : आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी, यस्तो छ संसदमा अंकगणित



काठठमाडौं । सर्वोच्च अदालतको फैसला अनुसार संघीय संसद्को अधिवेशन आज आइतबार सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् । मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ ।

यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ । कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला सुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ।

नयाँ परिवेशमा नयाँ ढङ्गले जनताको आशालाई विश्वासमा परिणत गर्न सहकार्य र सहमतिका साथ संसद्लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील तथा परिपक्क तुल्याउन यसपटकको अधिवेशनले दललाई ठूलो अवसर प्रदान गरेको छ। सर्वोच्च अदालतको गत असार २८ गते प्रतिनिधि सभा पुनःस्थाना हुने निर्णय सुनाएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारी गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् । संसद् सचिवालय स्रोतका अनुसार देउवाले आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

सर्वोच्च अदालतको परामादेशपछि कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ। असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

विश्वासको मत लिन ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसो हुँदा आफूले विश्वासको मत नपाउने आकलनसहित देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन् ।

संविधानको धारा ७६ ९५० अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका २३, पछिल्लो समय उपेन्द्र यादवको पक्ष लागेका सहित १७ जना, राजमोका १ र स्वतन्त्र सांसद् १ जनाले देउवालाई मत दिने तयारी छ। यसो हुँदा देउवाको पक्षमा १५१ मत पुग्छ।

जसअनुसार देउवालाई विश्वासको मत पुग्नेछ। एमालेका माधवकुमार नेपाल पक्षका सांसद् मेटमणि चौधरीले आफूहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताइसकेका छन् । नेकपा (एमाले) ले संस्थागत रुपमा भने सरकारलाई विश्वासको मत नदिने यसअघि नै निर्णय गरिसकेको छ। तर, प्रवक्ता प्रदीप ज्ञवालीले ह्वीप जारी नगरिने बताएका छन्। सर्वोच्च अदालतले फ्लोर क्रस गर्दा पनि कारबाही नहुने फैसला सुनाएकाले कसैलाई ह्वीप जारी नगर्ने एमाले
प्रवक्ता ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL