Logo

सशस्त्रका महानिरीक्षक वन्तलाई निलम्बन गर्न अख्तियारको निर्देशन, सामान ढुवानीमा भ्रष्टाचार

सशस्त्रका महानिरीक्षक वन्तलाई निलम्बन गर्न अख्तियारको निर्देशन, सामान ढुवानीमा भ्रष्टाचार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न निर्देशन दिएको छ । छानविनका क्रममा वन्तले सामान ढुवानी तथा खरिदमा भ्रष्टाचार गरेको पाइएकोले अख्तियारले निलम्बन गर्न निर्देशन दिएको हो ।

अख्तियारका अनुसार वन्तले आर्थिक वर्ष ०६९/०७० र ०७०/०७१ मा खरीद भएका सामान ढुवानी गरी देशभर आफ्नो युनिटमा पठाउन टेण्डर आव्हान गरी सदाज्योती सप्लायर्ससंग सम्झौता गरेकोमा सो सम्झौता बमोजिम ढुवानी नगरी नक्कली बिल बनाई करोडौ भ्रष्टाचार गरेको पुष्टी भएको छ । अनुसन्धानको क्रममा हालसम्म संकलित सबुत प्रमाणहरुबाट निवेदनमा उल्लेखित जिकिर अनुरुप उल्लेखित आर्थिक वर्षहरुमा खरिद गरिएका सामानहरु भन्दा अस्वभाविक बढि सामानहरु ढुवानी गरेको देखाई झुठ्ठा बिल तथा पत्रहरु तयारी गरी सम्झौता विपरित ढुवानीकर्ता ग मिलेमतो गरी ब्यापक आर्थिक अनियमितता गरेको पाइएकोले छ ।

उक्त कार्यमा वन्त समेतको प्रत्यक्ष संलग्नता रहेकोले अझै थप प्रमाण कागजातहरु संकलन गर्नुपर्ने भएको हुँदा तत्कालका लागि निलम्बन गर्न निर्देशन दिएको हो । उक्त घटनामा सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतलाई निलम्बन गर्न निर्देशन दिएको छ । उनीहरु पदमा रहीरहदा आफु विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने र अनुसन्धान तहकिकातको कार्यमा समेत बाँधा पुग्ने भएकोल अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को खण्ड (३) बमोजिम आजैका मितिवाट निलम्बन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL