Logo

नौ दशमलव पाँच मेगावाट क्षमताको तल्लो मोदी ‘१’ को उत्पादन पुनः चालू, बाढीले भएको थियो अवरुद्ध

नौ दशमलव पाँच मेगावाट क्षमताको तल्लो मोदी ‘१’ को उत्पादन पुनः चालू, बाढीले भएको थियो अवरुद्ध



काठमाडौं । बाढीले क्षति पुर्याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरुआत भएको छ । नौ दशमलव पाँच मेगावाट क्षमता भएको सो आयोजनामा यही असार २२ गते राति आएको बाढीले क्षति पुर्याएको थियो ।

आइतबार साँझदेखि आयोजना सञ्चालनमा आएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार कुश्मा नगरपालिका– ८ दोबिल्लास्थित सुन्दरेखोलामा आएको बाढीले आयोजनाको मुहान र झण्डै ३०० मिटर नहरमा क्षति पु¥याएको थियो । आयोजनाका कर्मचारी र अन्य कामदार गरी दैनिक ५० परिचालन गरी मर्मत गरिएको थियो ।

बाढीका कारण आयोजनामा झण्डै रु साढे चारदेखि पाँच करोडसम्मको क्षति भएको अनुमान गरिएको छ । मोदीखोलाको बहाव उच्च रहेकाले मुहानमा भएको क्षतिको विवरण अझै यकिन हुन नसकेको उनको भनाइ छ । आयोजनाको उत्पादन गृहमा भने कुनै क्षति भएको थिएन ।

सोही दिनको बाढीले मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका साइट इञ्जिनीयर राजाराम आचार्य र चालक इन्द्र थारु सवार गाडीसमेत बगाएको थियो । बगाएको गाडी फेला परे पनि आचार्य र थारुको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन । बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग एकतर्फीरुपमा सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL