Logo

कहाँ अड्कियो पेट्रोलियम अन्वेषणको काम, अब कसरी अगाडि बढ्छ ? यसो भन्छ खानी विभाग

कहाँ अड्कियो पेट्रोलियम अन्वेषणको काम, अब कसरी अगाडि बढ्छ ? यसो भन्छ खानी विभाग



काठमाडौं । निकै चर्चामा रहेको नेपालमै पेट्रोलियम उत्पादनको अन्वेषणको चर्चा अहिले सेलाएको छ । करीब डेढ वर्षयता कोरोना महामारीको संक्रमण बढेसँगै दैलेखमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको कामको अन्तिम प्रक्रिया ठप्प भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार दैलेखका ३३ सय स्थानमा सेस्मिक सर्भे, जिओलजिकल सर्भे र म्याग्नेटोटोरियल सर्भेको काम भइसकेको छ ।

यी सर्भेहरुको काम सकेर विश्लेषण गर्न चीन गएको चिनियाँ विशेषज्ञको टोलीले उक्त सर्भेहरुको प्रतिवेदन बुझाउन ढिलाई हुँदा अन्वेषणको छ । दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ रहेको सकारात्मक सन्देश दिएको उक्त टोलीले विस्तुत प्रतिवेदन भने बुझाउन बाँकी छ ।

अन्तिम नतिजाका लागि आउने चिनियाँ टोली अझै नआउँदा अन्वेषणको काम छायाँमा परेको छ । गत मे महिनामै आउने भनिएको चिनियाँ जियोलजिकल सर्भे टोली कोरोनाका कारण अझै नआएको हो ।

सो टोलीले सर्भेको प्रतिवेदन तयार पारेर विभागलाई बुझाउन गत मेमै नेपाल आउने भनेको उक्त टोली कोरोना महामारीको दोस्रो लहर सुरु भएर नेपालमा निषेधाज्ञा लागु भएपछि जुनमा नेपाल आउने भाका दिएको थियो । तर, चिनियाँ टोलीले दिएको भाका नाघिसके पनि अझै चिनियाँ टोली नआउनुको कारण स्पष्ट नभएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे बताउँछन् । उनका अनुसार विभागले चीनस्थित नेपाली राजदूताबाससँग चिनियाँ टोलीलाई चाँडो नेपाल बोलाउन लगातार सम्पर्क गरिरहेको छ ।

प्रतिवेदन बुझाईसकेपछि उक्त टोली पुनः चीन फर्किने र ड्रिलिङ सर्भेको काम गर्न नयाँ टोली आउने योजना छ । प्रतिवेदनले उक्त क्षेत्रमा पेट्रोलियम रहेको सकारात्मक सन्देश दिएको चिनियाँ टोलीले विभागलाई जानकारी गराईसकेको छ । सोही अुनसार विभागको आदेशमा अर्काे चिनियाँ टोलीले सर्भे गरिएका स्थानहरुमा ड्रिलिङ सर्भेको काम गर्नेछ । तर, ड्रिलिङ सर्भेका लागि नेपालले उक्त क्षेत्रमा सडक, जुलीलगायतका न्युनतम पूर्वाधार भने पुर्याईदिनुपर्ने छ । यसका लागि पनि काम अघि बढिसकेको विभागका उपमहानिर्देशक घिमिरेले बिजखबरलाई जानकारी दिए ।

विसं २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन नेपालबीच उक्त क्षेत्रमा पेट्रोलियम अन्वेषण गर्ने द्विपक्षीय सम्झौता भएको थियो । सम्झौतापछि चीनको नेशनल चाईना पेट्रोलियम कर्पाेरेशन (एनसीपीसी) का विज्ञहरुले अघिल्लो बर्ष लगातार ४ महिना उक्त क्षेत्रमा अन्वेषण गरेका थिए । अघिल्लो बर्षको लकडाउन अगावै अध्ययन सकेर चिनियाँ टोली प्रतिवेदन निर्माणका लागि चीन गएको थियो ।

यस्तै अर्काे आउने टोलीले अन्तिम अर्थात ड्रिलिङ सर्भे गरिसकेको खण्डमा मात्रै उक्त क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ कति छ, उत्खनन गर्दा फाईदा–वेफाईदा के हुन्छ लगायतका निष्कर्ष निकालिनेछ ।

नेपालको चुरे पर्वतमाला क्षेत्रको भौगर्भिक इतिहास तथा भूगर्भसँग मिल्ने भारतको असाम र पाकिस्तानको पोतबार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भईरहेका कारण नेपालको भूगर्भमा पनि पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने प्रबल सम्भावना रहेको विज्ञहरु बताउँदै आएका छन् ।

चुरे पर्वतमाला क्षेत्रका अतिरिक्त दैलेखको शिरस्थान र नाभीस्थानमा लामो समयदेखि ग्यास निस्केर ज्वाला बलिरहेको अवस्था छ भने पादुकास्थानमा कच्चा तेल निस्कनुलाई नेपालको भूगर्भमा पेट्रोलियम पदार्थ तथा पेट्रोलियम ग्यास रहेको प्रमाणका रूपमा लिन सकिन्छ ।

खानी तथा भूगर्भ विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किलोमिटरको दूरीमा ४५ स्थानमा ग्यास चुहावट देखिएको छ । सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो ।

उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोली स्वदेश फर्केपछि नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई २ अर्ब रुपियाँ सहयोगको घोषणासमेत गरेको थियो । घोषणाअनुसार २३ अगस्ट, २०१७ मा सो सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL