Logo

सार्वजनिक यातायात १४ गतेदेखि खुलाउने तयारी, भोलि निर्णय आउन सक्ने

सार्वजनिक यातायात १४ गतेदेखि खुलाउने तयारी, भोलि निर्णय आउन सक्ने



काठमाडौं । करीब ढेढ महिनायता बन्द सार्वजनिक यातायात केही दिनभित्रै सञ्चालन हुने सम्भावना बढेको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

व्यवसायी र सरकारी अधिकारीहरुबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।
करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर र सवारी धनी मर्कामा परेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक पाएको उनले जानकारी दिए।

कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो। जोर बिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ।

स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो। काठमाडौँ उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन्।

सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ। प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाएको छ। महासङ्घले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरुपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL