Logo

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्दै तीन जिल्लाका सिडिओ, खुुकलो बनाएर एक हप्ता थप्ने तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्दै तीन जिल्लाका सिडिओ, खुुकलो बनाएर एक हप्ता थप्ने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले आज छलफल गर्दैछन् । अहिले जारी निषेधाज्ञाको अवधि २० गतेसम्म मात्र रहेकाले कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेको बताइएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेकोमा पछिल्लो एक हप्तायता भने निषेधाज्ञामा थप कडाई गरिएको छ ।

सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाही अन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ ।

तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारे ।

सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL