Logo

हिमालय एयरलाइन्सले चीनबाट २ लाख डोज खोप निःशुल्क ल्याउने, साढे ५० हजार डोज आइपुग्यो

हिमालय एयरलाइन्सले चीनबाट २ लाख डोज खोप निःशुल्क ल्याउने, साढे ५० हजार डोज आइपुग्यो



काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप भेरोसेलको ५० हजार ४०० डोज नेपाल आइपुगेको छ । हिमालय एयरलाइन्सले तिब्बतबाट १०५ वटा बाकसमा उक्त खोप काठमाडौं ल्याएको हो । 

हिमालयले दुई दिन लगाएर दुई लाख डोज खोप नेपाल ल्याउने भएको छ । हिमालय एयरलाइन्सले आज फेरि अर्को डोज खोप ल्याउनेछ । भोलिसम्ममा ४१७ वटा बाकसमा राखिएका दुई लाख डोज खोप नेपाल आइपुग्ने जनाएको छ । 

एक पटक खोप ल्याउँदा हिमालय एयरलाइन्सलाई १९ हजार २०० अमेरिकी डलर अर्थात् दुई करोड २५ लाख बराबरको खर्च भएको छ । 

चीन सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो । यस्तै नेपाल वायु सेवा निगमको वाइडबडी विमान पनि चीनबाट ८ लाख डोज खोप लिएर आउँदैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग टेलिफोन संवाद गर्दै खोपका लागि सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् । उनले टेलिफोन संवाद गरे लगत्तै चीनले १० लाख डोज खोप दिने घोषणा गरेको थियो । 

चीनबाट उपलब्ध हुने खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिनेछ । चीनबाट सबै खोप आइसकेपछि मात्रै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

चीनले यसअघि पनि ८ लाख डोज खोप उपलब्ध गराएको थियो । सरकारले चीनबाटै ५० लाख डोज खोप किन्ने प्रक्रिया समेत अगाडि बढाएको छ । त्यसका लागि चिनियाँ अधिकारीहरूसँग नेपालले वार्ता गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL