Logo

सम्भव छ बजेटमा भनेझै आगामी दुई बर्षभित्र देशभर इन्टरनेट पुर्याउन ? देशभर कुन क्षेत्रमा कसरी हुँदैछ काम ?

सम्भव छ बजेटमा भनेझै आगामी दुई बर्षभित्र देशभर इन्टरनेट पुर्याउन ? देशभर कुन क्षेत्रमा कसरी हुँदैछ काम ?



काठमाडौं । सरकारले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा २ बर्षभित्र नेपालभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने उल्लेख गरेको छ । हुन त यो लक्ष्य आजभन्दा ३ बर्ष अघि पनि राखिएको थियो । तर, हालसम्म काम सम्पन्न हुन नसकेपछि बजेटमा पुनः यो बँुदालाई समेटिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार विकास कोषमार्फत विस्तार गर्ने यो सेवा हाल ६० जिल्लाका शतप्रतिशत स्थानमा पुगिसकेको छ । प्राधिकरणले जानकारी दिएअनुसार गत बैशाख मसान्तसम्म नेपालभरका ६० जिल्लाका सबै स्थानमा पुग्दा ५ जिल्लाका ५० प्रतिशत स्थानमा इन्टरनेट सेवा जडान भईसकेको छ । यस्तै अन्य ९ जिल्लामा भने कामको जिम्मा सेवाप्रदायकलाई लगाएर काम अघि बढिसकेको छ ।

प्राधिकरणले १८ ओटा प्याकेजमा विभाजन गरी देशभरका सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्नेगरी काम अघि बढाएको थियो । जसमा पहिलो प्याकेजअन्तर्गतका ६० जिल्लाका सबै स्थानीय तहमा शतप्रतिशत काम भएको हो ।

प्राधिकरणका अनुसार हाल ६३१ स्थानीय निकायका कार्यालय, ५ हजार ६७ वडा कार्यालय, ४ हजार ४ सय ३७ माध्यामिक विद्यालय र ३ हजार ५ सय ६५ स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिएको हो । प्राधिकरणका अनुसार उक्त निकायहरुमा इन्टरनेट जडानसँगै त्यस वरिपरिका सर्वसाधारणले पनि उक्त इन्टरनेट सेवा जडान गर्न चाहेमा जडान गर्न पाउनेछन् ।

यस्तै नेपालभर इन्टरनेट सेवा पुर्याउने गरी ल्याईएको अर्काे परियोजना अप्टिकल फाईबर विस्तार परियोजना पनि सोहीअनुसार अघि बढिसकेको छ । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर विस्तार गरिने उक्त अप्टिकल फाईबर विभिन्न ३ ओटा प्याकेज बनाएर काम अघि बढाईँदै छ ।

पहिलो प्याकेजअन्तर्गत पर्ने प्रदेश १, २ र वागमति प्रदेशको ९७९ किलोमिटर क्षेत्रमा अप्टिकल फाईबर विछ्याउने काम सम्पन्न भईसकेको छ । यस्तै प्याकेज २ अन्तर्गत युनाईटेड टेलिकमले पाएको जिम्मा हाल सर्वाेच्च अदालतका कारण रोकिएको छ । नेपाल दूरसंचार प्राधिकरणले भनेबमोजिम काम नभएपछि यसको ठेक्का रद्ध गरेको थियो ।

तर, प्राधिकरण विरुद्ध युनाईटेड टेलिकमले सर्वाेच्चमा रिट आवेदन हालेको थियो । त्यसपश्चात पुनः प्राधिकरणले सर्वाेच्चमा भ्याकेट हालेको थियो । हालसम्म सर्वाेच्चबाट कुनै निर्णय नआईसकेकाले उक्त प्याकेजको काम तटस्थ छ । यस्तै प्याकेज ३ अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाईबर विस्तार गर्न नेपाल टेलिकमले जिम्म पाएको छ । हाल उक्त स्थानमा फाईबर विछ्याउने प्रक्रियाको ठेक्का सम्झौता भई अध्ययन भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्