Logo

प्रथम त्रैमासमा सवा ३ लाखले गराए बीमा, पौने ६ अर्व संकलन

प्रथम त्रैमासमा सवा ३ लाखले गराए बीमा, पौने ६ अर्व संकलन


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा कुल ३ लाख १४ हजार ६ सय जनाले बीमा गराएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ३१ हजारले बढी हो । गत अवाको सोही अवधिमा कुल २ लाख ८३ हजारले बीमा गराएका थिए ।

जीवन बीमा कम्पनीले सो अवधिमा कुल ५ अर्व ८२ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये नयाँ बीमालेख जारी गरेवापत १ अर्व ७२ करोड ४८ लाख रुपैयाँ आर्जन गरेका छन् भने नविकरण शुल्क वापत ४ अर्ब १० करोड ३६ लाख रुपैयाँ आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ५६ करोड रुपैयाँ बढी हो । गत आवको पहिलो त्रैमासमा कुल ५ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । उक्त तथ्याङकमा राष्ट्रिय बीमा सस्थानको विवरण भने समावेश गरिएको छैन ।

यो पटक पनि अन्य बीमाको तुलनामा सामान्य म्यादी जीवन बीमा (वैदेशिक रोजगार बीमा)को संख्या नै बढी रहेको छ । ३ लाख १४ हजार बीमा लेख जारी भएकोमा २ लाख २५ हजार बीमालेख वैदेशिक रोजगारीमा जाने कामदारको रहेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय तथ्याङ्कमा बीमा गर्नेको संख्या बढेपनि वास्तविक रुपमा नबढेको नेपाल लाइफ इन्स्योरेन्सका महाप्रवन्धक विवेक झाले बताए । ‘यसपटक अघिल्ला वर्षको तुलनामा बीमा गर्नेको बृद्धिदर घटेको छ,’ उनले भने, ‘सामान्य रुपमा पनि बीमा वार्षिक २० प्रतिशतले बढ्नुपर्नेमा यो एकदमै न्युन हो ।’ बैदेशिक रोजगारीमा देखिएको विभिन्न खालका समस्या, भुकम्प तथा राजनीतिक अस्थिरताले गर्दा बीमा गर्नेको संख्या नवढेको उनले जानकारी दिए । साथै, नेपालमा बीमा एकदमै न्युन प्राथमिकतामा परेकाले पनि सो क्रम नवढेको उनको भनाइ छ ।

सो अवधिमा सवैभन्दा बढी बीमा पोलिसी अमेरिकन लाइफ इन्स्योरेन्सले जारी गरेको छ । उसले प्रथम त्रैमासमा कुल १ लाख १३ हजार बीमा लेख जारी गर्दै ५५ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, सो अवधिमा सवैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । नेपाल लाइफले कुल ५५ लाख बीमालेख जारीगर्दै २ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये ५६ करोड रुपैयाँ नयाँ बीमालेख जारीबाट उठेको छ भने १ अर्ब ४६ करोड रुपैयाँ नविकरण शुल्क वापत उठाएको छ ।

त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २६ हजार बीमालेख जारी गर्दै १ अर्व ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने नेशनल लाइफले ५० हजार बीमालेख जारी गरी ८१ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि ३७ हजार बीमालेख जारी गर्दै ३७ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL