Logo

दश महिनामा साढे ६३ लाख थान मोबाइल सेट नेपाल भित्रियो, पाँच बर्षमा १ खर्ब १४ अर्ब बढीको आयात

दश महिनामा साढे ६३ लाख थान मोबाइल सेट नेपाल भित्रियो, पाँच बर्षमा १ खर्ब १४ अर्ब बढीको आयात



काठमाडौं । नेपालमा पछिल्लो समय मोबाइल फेन प्रयोगकर्ताको संख्यामा व्यापक वृद्धि भएको छ । प्रयोगकर्ता वृद्धि भएसँगै नेपाल मोबाइल फोन उत्पादकहरुका लागि प्रमुख बजार बन्दै गएको छ र हरेक वर्ष नेपालमा मोबाइल फोनको आयात बढिरहेको छ ।

कोरोना कहरकाबीच पछिल्लो १० महिनामा आयात भएको मोबाइल फोनको संख्याले पनि यसलाई पुष्टि गर्छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउन देखि बैशाखसम्म नेपालमा ३२ अर्ब ९ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको हो । १० महिनामा ३२ अर्ब बढी मूल्य बराबरका मोबाइल फोन नेपाल भित्रिएको छ । तथ्यांकलाई हेर्दा पनि यो बर्षको १० महिनामा गत बर्षको तुलनामा १८ अर्ब बढीका मोबाइल सेट आयात भएको छ । नेपालमा चीन, भारत, कतार भियतनाम, अमेरिकालगायत देशहरुबाट आउने यस्ता फोन पछिल्लो १० महिनामा मात्रै ६३ लाख ५५ हजार २ सय ३४ पिस आयात भएको छ ।

गत बर्षको यही अवधिमा नेपालमा १४ अर्ब ६८ करोड ९० लाख रुपैयाँ बराबरको मोबाइल सेट आयात भएको थियो । जसमा ३९ लाख ५१ हजार ३ सय ७ थान मोबाइल सेट सामेल थिए । पछिल्लो समय कोरोना महामारी र यसले निम्त्याएको लकडाउनका कारण मोबाइल आयातमा लगातार वृद्धि भईरहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

यता व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को तथ्यांक केलाउँदा सन २०२० सम्म पछिल्लो ५ बर्षमा मात्रै नेपालमा १ खर्ब १४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बराबरको मोबाइल सेट आयात भएको देखिन्छ । यस अवधिमा सबैभन्दा बढि सेट सन २०२० मा २६ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ बराबरका मोबाइल सेट आयात भएको देखिन्छ । यस्तै सन २०१९ मा नेपालले २१ अर्ब १८ करोड १६ लाख रुपैयाँ बराबरको मोबाइल सेट आयात गरेको थियो भने सन २०१८ मा २१ अर्ब ८६ करोड बढिको मोबाइल सेट आयात गरेको थियो ।

यस अवधिमा नेपालमा सबैभन्दा बढि मोबाइल सेट चीनबाट भित्रिएका विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार चीनबाट पछिल्लो १० महिनामा १९ अर्ब ५४ करोड रुपैयाँ बराबरका ५२ लाख ३३ हजार बढि थान मोबाइल सेट भित्रिका हुन् । यस्तै भारतबाट मात्रै यस अवधिमा नेपालमा ११ अर्ब १ करोड रुपैयाँ बढीका ८ लाख २९ हजार बढि सेट भित्रिएका हुन् । नेपालले सबैभन्दा बढि मोबाइल सेट आयात गर्ने देशहरुको तेस्रो र चौथो स्थानमा भियतनाम र अमेरिका रहेका छन् ।

उक्त देशहरुबाट नेपालले चालु आवको १० महिनामा क्रमशः १ अर्ब २४ करोड २ लाख र ६ करोड ११लाख ६४ हजार हजार रुपैयाँ बराबरका मोबाइल सेट भित्र्याएको छ । यस्तै नेपालले कोरिया, टर्की, युक्रेन, स्पेन, स्विजरल्याण्ड, स्वीडेलनलगायत ३५ बढी देशबाट मोबाइल सेट भित्राएको छ ।

नेपालले यी देशहरुबाट यस अवधिमा मोबाइल सेटमात्रै नभई ५ करोड ४८ लाख ८५ हजार रुपैयाँ बराबरको ८० हजार ९४ थान लाइन टेलिफोन र ९ करोड ३६ लाख बराबरको अन्य टेलिफोन सेटहरु पछिल्लो १० महिनामा आयात गरेको छ । यस्तै यस अवधिमा २० करोड ७ लाख ९० हजार रुपैयाँ बराबरका १ लाख २३ हजार ६६ थान स्मार्ट वाचसमेत आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL