काठमाडौं । नेपाल प्रहरीले कालोबजारी अन्तरगत जफत गरेको पेट्रोलियम पदार्थलाई नेशनल ट्रेडिङले विक्रीमा रोक लाएको छ । जफल गरिएको पेट्रोलियम गुणस्तरहिन भेटिएकाले विक्रीमा रोक लगाएको नेशनल ट्रेडिङ उपत्यका विक्री वितरण प्रमुख श्याम श्रेष्ठले बताए । ‘प्रहरीले जफल गरेका केही पेट्रोल र डिजेल हिजो विक्री गरेका थियौं,’ उनले भने, ‘उपभोक्ताले गुणस्तरमा कम्प्लेन गरेपछि रोक लगाएका छौं ।’
यस्तै परिमाणमा पनि कम रहेकाले समस्या उत्पन्न भएको उनले जानकारी दिए । ‘जफत गरिएको डिजेल तथा पेट्रोलको ग्यालिङमा परिमाण ५५ लिटर उल्लेख गरिएको छ,’ उनले भने, ‘त्यसलाई खोलेर भर्दा ४० लिटर पनि पुग्न मुस्किल छ ।’ जफत गरिएको डिजेल तथा पेट्रोलियममा गुणस्तर तथा परिमाणको वारेमा कम्प्लेन आएका आएको छ ।
उनका अनुसार दुवैमा कम्प्लेन आएकाले यसलाई कसरी विक्री गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यसलाई केही समयभित्र निश्चित मापदण्ड बनाएर विक्री गरिने भएको छ ।
प्रहरीले कालोबजारी अन्तरगत विभिन्न नाकाबाट काठमाडौं ल्याउँदै गरेको ३६ हजार ५ सय लिटर पेट्रोलियम पदार्थ जफत गरेको थियो । जसमा २२ हजार ५ सय लिटर डिजेल र १४ हजार लिटर पेट्रोल रहेको थियो । यस्तै, ग्याँस पनि ३५ सिलिण्डर रहेको थियो । नेशनल ट्रेडिङले हिजो भने २ हजार लिटर पेट्रोल, ५ सय ५० लिटर पेट्रोल र ३५ वटै ग्याँस विक्री गरेको थियो ।