काठमाडौं । जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । देशभर कोरोनाको कहरका कारण निषेधाज्ञा जारी रहेको भए पनि यहाँका स्थानीयवासी भने सामाजिक दुरी कायम गर्दै रोपाइँमा लागि परेका छन् ।
कोरोना भाइरसको दोेस्रो लहरको सङ्क्रमण रोकथामका लागि जुम्लाको प्रशासनले पनि एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । यो याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै कालीमार्सी धान रोपाइँको चटारोमा छन् । यहाँ यसै महिनाको पहिलो हप्तादेखि नै रोपाइँ शुरु भएको हो ।
पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् । जुम्लामा मात्र उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान खेती गर्ने यहाँका किसानको सङ्ख्या पनि बढेको स्थानीय किसान सुनिता रावतले बताए । जेठ पहिलो सातादेखि नै गाउँमा मार्सी धान रोपाइँको चटारो शुरु हुने गर्दछ । त्यसैले अहिले पनि यहाँ समयमै रोपाइँ थालिएको हो ।
कृषि क्यालेन्डरअनुसार किसानहरुले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहीआएको छ । यही परम्पराअनुसार यस वर्ष पनि सोही क्यालेन्डरअनुसार बीउ राखिएको स्थानीय जानकार रमानन्द आचार्यले बताए ।
स्थानीय कृषि क्यालेन्डरअनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ शुरु हुन्छ । कोरोना सङ्क्रमणको जोखिम भए पनि किसानलाई रोपाइँ गर्नैपर्ने बाध्यता छ । जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा धान खेती हुन्छ । स्थानीयले निषेधाज्ञाको बेवास्ता गर्दै धान रोप्ने काम शुरु गरेको यहाँका किसानहरु बताउँछन् ।
जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाएको छ ।
अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ । मार्सी चामलको बजारभाउ प्रतिकिलो १२० रुपैयाँ छ । व्यापारीहरु पनि यो चामल खरिद गर्न घरघरमा नै आउन थालेका छन् । मार्सी चामलको जति चर्चा छ उत्पादनमा त्यतिनै मेहनत गर्नुपर्छ भन्छन् यहाँका किसानहरु ।
यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कात्तिकको पहिलो सातादेखि घरमा भित्र्याउने गर्छन् । वर्षेनी मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हुँदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको यहाँका किसान जय बुढाले बताए ।
मार्सी धान खेतीको विधि
जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये काली मार्सी धानको खेती जिल्लामा शुरु भएको छ । नेपाली बजारदेखी तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको काली मार्सी धानको खेती हरेक वर्षको चैत १२ गतेदेखि शुरुवात हुने गरेको छ । धानको बीउ बोराको पानीमा भिजाइ राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुवात भएको दिनका रुपमा लिने गरेको गुठीचौर गाउँपालिका – ४ का स्थानीयवासि विष्णु धितालले बताए ।
उनले भने, “यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आ–आफ्ना कुल देवतालाई सम्झेर बीउ राख्ने परम्परागत चलन रहेको छ ।” विश्वकै उच्च स्थानमा उत्पादन हुने कालिमार्सी धान जिल्लाको पातारासी गाउँपालिकास्थित छुम चौरज्युलोमा सबैभन्दा बढी सो धानको खेती हुने गरेको स्थानीयवासि धितालले बताए ।
हरेक वर्ष चैत १२ गते बोरामा बीउ राखेर पानीमा भिजाइन्छ । सोह्र गते बाहिर निकालिन्छ र २० गते बेर्ना छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ गतेलाई यहाँको परम्परागत चलनअनुसार बारुवा पनि भन्ने गरेको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी रमिला भण्डारीले बताइन् ।
तिला गाउँपालिका –१ स्थानीयवासी बिजकली बुढाका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि रहेको छ । मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । घरका सबै दिदीबहिनीहरु एक आपसमा चिउरा कुट्ने चलन रहेको छ । यो चलन विस्तारै लोप हुदै गरेको स्थानीयवासि रावतले बताए ।
कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन ।
स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रंगको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको हो । त्यसैले होला नेपालका राजनीतिक दलका ठूला नेताहरुले धनीहरुको भान्सामा मार्सी धान चालमको भात आएको बेलाबेला चर्चा पनि हुने गरेको छ ।
जिल्लाका आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ । सो धान पाक्न सात महिना पूरै लाग्छ । बाह्र चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ । त्यसैगरी वैशाख १ मा भने बेर्नाको पानी पूरै सुकाउने चलन छ ।
त्यसपछि बीउ हरियो हुन्छ । भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिंगर चालेर मलका रूपमा हालिन्छ । एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जौ काट्दै सँगसँगै रोपाइ गरिन्छ । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन । नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ शुरु हुन्छ । असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ ।
भदौमा झारजङ्गल काट्नुपर्छ । कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बताए ।
मार्सी धानका विशेषता
समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्ने मार्सी धान नेपालको उच्च हिमाली जिल्ला जुम्लामा हुन्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने तथा आडिलो हुने धानबाली विशेषज्ञहरु बताउँछन् ।
जुम्लामा मार्सी धानको बीउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए भनिन्छ । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो । यो धान चैतमा रोपेर कात्तिकमा काटिन्छ । यो धान रोपाइँका लागि भारत तथा तराइमा गएका स्थानीय युवाहरु पनि घर फर्किने गर्दछन् । यो धान रोपाइँको विशेष महत्व रहेको र यसलाई स्थानीयले एक किसीमको पर्वका रुपमा पनि मनाउने गरेकोले रोपाइँका लागि उनीहरु घर फर्किने गरेको स्थानीयहरुको भनाई छ ।
जुम्लामा धानखेती बेँसी क्षेत्र (समुद्र सतहबाट दुई हजार देखि दुई हजार २०० मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट दुई हजार २०० देखि दुई हजार ८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट दुई हजार ८०० देखि तीन हजार ५० मिटर) मा हुने गरेको छ । यो धानबाली दुई हजार ७९० मिटर उचाइको जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा पनि हुन्छ । यसैलाई संसारको सबैभन्दा उच्च स्थानमा फल्ने धानका रुपमा लिने गरिन्छ ।
संसारमा रातो रङ्को चामल १० प्रजातिभन्दा बढी छैन । जुम्लाको मार्सी चामल तिनैमध्येको एक हो । विभिन्न स्रोतका अनुसार काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ । यो धान नेपाल, भूटान, भारत, पाकिस्तानलगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।
ग्रामीण क्षेत्रका किसान धान रोप्न व्यस्त भए पनि सदरमुकाम खलङ्गामा निषेधाज्ञा कडा पारिएको छ । कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएकाले औषधि पसल, खाद्यान्न र बंैकहरु हरेक दिन बिहान ९ बजेसम्ममात्र सञ्चालन गर्न दिने गरिएको र अरु सबै सेवा ठप्प पारिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।-रासस