काठमाडौं । नेपालमा घरायसी सरसफाईमा उपयोग हुँदै आएको नरिवलको झाडुको आयात एक सय प्रतिशत बढीले वृद्धि भएको छ । अघिल्ला वर्षहरुमा वार्षिक १५ करोड रुपैयाँ हाराहारीमा आयात हुादै आएको झाडु चालु आर्थिक बर्षको १० महिनामा मात्रै २९ करोड रुपैयाँको आयात भएको छ । १० महिनाको आयातको यो दर सय प्रतिशतभन्दा बढीको हो ।
भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि बैशाखसम्म २९ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख १४ हजार पिस झाडु आयात भएको हो । नेपालले पछिल्लो ५ बर्षदेखि बर्षेनी लगातार १५ करोड बढीको झाडु आयात गरिरहेको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र (टीईपीसी) ले जानकारी दिएको छ ।
नरिवलको पातबाट बन्ने यस्तो झाडु नेपालले चीन, थाइल्याण्डलगायत ३४ देशबाट आयात गर्ने गरेको छ । नेपालले झाडु आयातबाट पछिल्लो १० महिनामा ६ करोड ९३ लाख रुपैयाँ कर उठाएको छ ।
टीईपीसीका अनुसार सन २०१६ मा नेपालले १२ करोड १५ लाख रुपैयाँ बराबरको झाडु आयात गरेको थियो । यस्तै त्यसको पछिल्लो बर्ष अर्थात सन २०१७ मा १२ करोड ९ लाख रुपैयाँ बराबरको झाडु आयात भएको देखिन्छ । साथै सन् २०१८ मा १६ करोड ८५ लाख, २०१९ मा २२ करोड १२ लाख र सन २०२० मा १८ करोड १ लाख रुपैयाँ बराबरको झाडु नेपालले आयात गरेको देखिन्छ ।
हालसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी झाडु चीनबाट, त्यसपछि भारत, इटाली, टर्की हुँदै थाइल्याण्ड र इंगल्याण्डबाट धेरै झाडु आयात भएको देखिन्छ । नेपालमा यसको प्रयोग प्राय हरेक क्षेत्रमा भएको पाईन्छ । खासगरी खस्रो सतह सफाई गर्नका लागि यसको प्रयोग गर्ने गरिन्छ । तर, यसको विकल्पमा अम्लिसोको कुचो पनि प्रयोग गर्ने चलन उत्तिकै छ ।
नेपालका प्राय स्थानमा अम्लिसो लगाईने भएपनि विदेशबाट अम्लिसोको कुचो आयात भइरहेको देखिन्छ । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको १० महिनामा २३ हजार रुपैयाँ बराबरको २ सय २६ किलो अम्लिसो आयात भएको छ ।