Logo

१० महिनामै १ खर्ब बढीको निर्यात व्यापार, निर्यात बढेपनि व्यापारघाटा ११ खर्ब ४५ अर्ब पुग्यो

१० महिनामै १ खर्ब बढीको निर्यात व्यापार, निर्यात बढेपनि व्यापारघाटा ११ खर्ब ४५ अर्ब पुग्यो



काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा नेपालले १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्यांकअनुसार यस अवधिमा नेपालको निर्यात पनि ३२ दशमलव १९ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक बर्ष नेपालले यस्तो निर्यात ८२ अर्ब रुपैयाँ बढि गरेको थियो । नेपालले यस अवधिमा आयातको व्यापार पनि १२ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको गरेको छ । गत बर्षको तुलनामा नेपालको आयातको व्यापारमा पनि २२ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

गत बर्ष नेपालले १० खर्ब २५ अर्ब रुपैयाँ बराबरको आयातको व्यापार गरेको थियो । यसरी हेर्दा पछिल्लो १० महिनामा नेपालले ११ खर्ब ४५ अर्ब रुपैयाँ ब्यापारघाटा ब्यहोरेको छ । नेपालको व्यापारघाटा गत बर्षको तुलनामा २१ दशमलव ४८ प्रतिशतले बढेको छ ।

पछिल्लो १० महिनामा १३ खर्ब ६२ अर्ब ६५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा निर्यातको व्यापारको हिस्सा ७ दशमलव ९६ प्रतिशत रहेको छ भने आयातको हिस्सा ९२ प्रतिशत छ । पछिल्लो समय नेपालबाट प्रशोधित भटमासको तेल, जुटका सामानलगायतको निर्यात बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL