Logo

भक्तपुरमा कोरोना संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होम आइसोलेसनमा

भक्तपुरमा कोरोना संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होम आइसोलेसनमा



काठमाडौं । भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ । संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसँगै भक्तपुरमा संक्रमण र मृत्युको संख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६ कूल संक्रमित रहेकामा ४ हजार ५५५ सक्रिय सङ्क्रमित छन् । अस्पताल तथा विभिन्न आइसोलेसनमा २३९ सङ्क्रमित छन् । होम आइसोलेशनमा ४ हजार १३४ बिरामी छन् । अहिलेसम्म १२ हजार ९९० संक्रमित निको भएका छन् ।

संक्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार संक्रमितको मृत्यु भइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा सङ्क्रमितले शय्या पाउन सकिरहेका छैनन् । शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउँछन् । अस्पतालमा रहेकाहरुको पनि अक्सिजन अभाव भएर समस्या आएको छ ।

सक्रिय संक्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत संक्रमण र मृत्युदर कमी रहेको छ । जिल्लामा चार हजार ५५५ सक्रिय सङ्क्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार २५६ रहेका छन् । संक्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उनको भनाइ छ । उनका अनुसार संक्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ ।

संक्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शैया भरिएका छन् । अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा समित्रा गौतमले सबै शय्या कोरोना सक्रमित बिरामीले भरिएको बताए । उनले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL