Logo

प्रधानमन्त्री ओलीले सम्हाले गृह सहित थप सात मन्त्रालयको कार्यभार

प्रधानमन्त्री ओलीले सम्हाले गृह सहित थप सात मन्त्रालयको कार्यभार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ७ ओटा मन्त्रालयको कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै गैर सांसदहरुको मन्त्री पद हटेसँगै उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हालेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्काे व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेका हुन् ।

सर्वाेच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै कामकारवाही नगर्नू र गर्न नदिनू भनी अन्तरिम आदेश दिएको थियो ।

प्रधानमन्त्री ओलीको आजको सिफारिशबमोजिम ती मन्त्रालयको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्