Logo

काठमाडौंमा पसलैपिच्छे मासुको मूल्य फरक, उपभोक्ता वास्तविक मूल्यभन्दा धेरै तिर्न बाध्य

काठमाडौंमा पसलैपिच्छे मासुको मूल्य फरक, उपभोक्ता वास्तविक मूल्यभन्दा धेरै तिर्न बाध्य



काठमाडौं । एक महिना अघि काठमाडौं उपत्यकामा प्रतिकिलो ४ सय ५० रुपैयाँ पुगेको कुखुराको मासुको मूल्य हाल घटेर प्रतिकिलो ३ सय ४० रुपैयाँ पुगेको छ । अहिले आधिकारिक मूल्यका रुपमा प्रतिकिलो ३ सय ४० रुपैयाँ मूल्य तोकिएपनि काठमाडौंमा पसलैपिच्छे फरक मूल्यमा विक्रि भइरहेको छ । काठमाडौं उपत्यकाकै धेरै स्थानहरुमा ठाउँअनुसार मूल्य फरक–फरक रहेकोे देखिन्छ ।

बानेश्वमा मासु किन्दा एउटा मूल्य छ भने कलंकीमा किन्दा एउटा । हाल व्यवसायीहरुले कुखुराको मासु प्रतिकिलो ३ सय ३० रुपैयाँदेखि ३ सय ७० रुपैयाँसम्म मूल्य तोकेर विक्री गरिरहेका छन् । कानूनले जुनसुकै वस्तुको मूल्य पनि सबै स्थानमा समान हुनुपर्ने र उपभोक्ताले एउटै दरमा खरीद गर्न पाउनुपर्ने व्यवस्था गरेको छ । यसलाई उपभोक्ताको अधिकारको रुपमा सरकारले नै संरक्षण गरेको छ । तर, देशको राजधानी शहर काठमाडौंभित्रै एउटै वस्तुको फरक–फरक मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।

उपत्यकाभित्रै मासुको मूल्य फरक हुनुमा मासु पसलेको दोष देखाउँछन राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसी । उनका अनुसार संघले काठमाडौं उपत्यकाका लागि हाल मासुको प्रतिकिलो ३ सय ४० रुपैयाँ तोकेको छ । जुन मूल्य संघका सदस्य रहेका सबै पसल र कोल्ड स्टोरमा लागु हुन्छ । संघले तोकेको मूल्य संघअन्तर्गतका सबै पसलहरुले तोेकेको मूल्यभन्दा बढी लिन पाउँदैनन् । तर, संघ बाहिरका केही व्यवसायीहरुले भने तोकेको मूल्यभन्दा बढाएर बेच्ने गर्छन् । अर्थात अन्य व्यवसायीहरुले आफ्नो खर्चका आधारमा बढीमा २० रुपैयाँसम्म मूल्य बढाएर बेच्ने गरेको उनको भनाई छ । तर, पसलेले भने ३७०, ३८० मा पनि विक्री गरिरहेका छन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले गत महिनामात्रै कुखुराको मासुको मूल्य हालसम्म्मकै उच्च तोकेको थियो । कुखुराको दानाको मूल्य, चल्लाको मूल्य तथा प्यारेन्टको कमीका कारण मूल्य बढेको जनाउँदै आएको संघले कोरोना महामारी फैलिएसँगै भने मासुको मूल्य घटाईरहेको छ ।
हाल कुखुराको मासुको उत्पादनअनुसार खपत नभएका कारण मूल्य घटिरहेको संघका अध्यक्ष बिसीले बिजखबरलाई जानकारी दिए । उनका अनुसार बजारमा उत्पादन बढी र सोहीअनुसार खपत कम भएपछि यसको मूल्य बाध्यतावस घटाउनु परेको हो । देशभर फैलिएको कोरोनाको दोस्रो लहर र यसले निम्त्याएको निषेधाज्ञाका कारण मासुको मात्रै नभई हरेक वस्तु तथा सेवाको व्यापार चौपट भएको छ । गत बर्ष फैलिएको कोरोना महामारीले बजार चक्र ध्वस्त गरिदिएपछि निराश बनेको व्यवसायीहरुले गत भदौदेखि भने सुखको सास फेरेका थिए । तर, गत महिनादेखि फैलिएको कोरोनाको दोस्रो लहरले निको भईरहेको घाउमाथी नुनचुक छर्केको संघका अध्यक्ष बिसी बताउँछन् ।

गत बर्षको कहरसँगै नेपालमा कुखुराको चल्लाको प्यारेन्ट अभाव भएपछि चल्लाको मूल्य एकाएक आकाशिएको व्यवसायीहरुले बताउँदै आएका थिए । त्यही आाधारमा उनीहरुले मासुको मूल्य पनि बढाएका थिए । तर, पछिल्लो समय गत बर्षको तुलनामा झन खतरनाक महामारी फैलिएपछि मासुको खपत पनि ७० देखि ७५ प्रतिशतसम्म घटेको उनको भनाई छ ।

महामारी अघि दैनिक ३ देखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलो मात्रै खपत भईरहेको छ । अर्थात उपत्यकामा संचालितत ठुला होटलदेखि रेष्टुरेन्टहरु बन्द भएसँगै खपतमा पनि ठुलो गिरावट आएको छ । तर, सरकारले पसल खुल्ने र व्यापार व्यवसाय गर्न पाउने समय बिहान १० बजेसम्म तोकिदिएपछि भने बजारमा मासुको खपत केही मात्रमा भइरहेको अध्यक्ष बिसी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्