काठमाडौं । रक्सौल नाकामा हिजो राती ‘लिक’ भएको ग्याँस बुलेटलाई अन्यत्र सारिएको छ । लिक भएका ३ वटा बुलेटमध्ये आइपी रोड ट्रान्सपोर्ट कम्पनीको आरजेट १४ जी ३३१७ नम्बरको बुलेटलाई अन्यत्र सारिएको हो ।
अन्य २ बुलेटलाई भने सामान्य ट्रिटमेन्ट गरी राखिएको नेपाल एलपी ग्याँस उद्योग संघका शिवप्रसाद घिमिरेले जानकारी दिए । ‘बढी लिक भएको बुलेट चाहिँ पड्किन सक्ने सम्भावना भएकाले भारतीय प्रहरीले राती नै जंगलमा लगेर राखेका छन्,’ उनले भने, ‘अन्य बुलेटलाई भने सोही स्थानमा पानीको फोहोराले चिस्याएर चिनी, चुना र सावुनको लेप लगाएर राखिएको छ ।’
हाल भारतबाट नेपाल आउनका लागि लोड भएर आएका झण्डै ४ सय बुलेट ग्याँस सीमा नाकामा अडकिएर बसेको छ । जसमध्ये रक्सौल नाकामा मात्र १ सय ९० बुलेट रहेको छ । यसैगरी, सुनौली नाकामा पनि १ सय १९ बुलेट रहेको छ । अव तत्काल ती बुलेटहरुलाई नछाडिए अरु पनि लिक हुने सम्भावना रहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘ग्याँसका बुलेटलाई चाप बढी हुने वित्तिकै पानीका फोहोरा दिएर चिस्याउनु पर्छ,’ उनले भने, ‘तर, झण्डै साढे २ महिनादेखि घाममा त्यतिकै राखिएको छ ।’
ग्याँस लिक हुन थालेकाले भारतीय पक्षले बुलेट छाड्ने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् । ग्याँसको बुलेट भारतलाई नै घाडो भएको उनीहरुको तर्क छ । यदि भारतले लोड भएका सवै बुलेट छाडेमा नेपालमा देखिएको ग्याँसको समस्या समाधान हुने छ ।